मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या वर्षेनि वृद्धि हुँदै जान थालेको छ ।
समुद्री सतहको (चार हजार ६१०) मिटर अग्लो उचाइमा रहेको (नेपाल–चीन) उत्तरी कोरला नाका २४ नं सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर मुख्य नाका प्रवेशद्वार हो । यही प्रवेशद्वार रहेको कोरला नाकामा बर्सेनि हजारौँ आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् । यहाँ आउने आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरलानाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाइएको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि पाँच सय डलर राजस्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमा नाकामा जान पाउँदैनन् । सुरक्षा संवेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरीको (बिओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन । दशैँ पर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेन–जी आन्दोलनले उत्पन्न परिस्थिति र हालै देखिएका प्रतिकूल मौसमको प्रक्षेपणका बाबजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दशैँपछि असोज १७ र १८ गते गरी दुई दिनमा छ हजार एक सय ७३ नेपाली आन्तरिक पर्यटक र छ सय ८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ छिरिङकिप्पा लामाले जानकारी दिए । यसैगरी, दुई दिनको अवधिमा दुई हजार दुई सय १७ सवारीसाधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाइ छ । नेपाल–चीन उत्तरी कोरला नाका भ्रमणका लागि आन्तरिक पर्यटकको संख्या दसैँपछि ह्वात्तै बढेको न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले जानकारी दिए । दशैँ पर्वको असोज १७ र १८ गतेका दिनमा दैनिक एक हजार पाँच सय आन्तरिक पर्यटकले कोरला नाकाको अवलोकन गरी फर्किएको उनको भनाइ छ ।
यसैगरी दशैँपछिको तेस्रो दिन आइतबार मात्रै एक हजार सात सय दुई आन्तरिक पर्यटक कोरला नाका पुगेको सशस्त्र प्रहरीका बीओपी इञ्चार्ज थापाले उल्लेख गरे । नाका अवलोकनका लागि न्हेचुङस्थित सशस्त्र प्रहरी चेक प्वाइन्टमा एक सय २६ बस, जिप र कार भित्रिएका छन् । यसैगरी, चेक प्वाइन्टमा इन्ट्री भई दुई सय २४ मोटरसाइकल कोरला नाका पुगेको बीओपी इञ्चार्ज थापाले उल्लेख गरे । उच्च स्थानमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकनका लागि जाने नेपाली पर्यटकमा चिसो र हाइअल्टिच्युडका कारण विभिन्न समस्या देखिने गरेको पाइएको छ । नाकामा अक्सिजन कमीका कारण हाइअल्टिच्युड हुने सम्भावना र चिसोका कारण सवारीसाधन स्टार्ट हुन समस्या हुने आदि समस्या देखिएको इञ्चार्ज थापाले बताए ।
नाका पुगेका पर्यटक तथा सवारीसाधनलाई चिसोका कारण समस्या देखिने र उनीहरुको उद्धार गर्न समस्या देखिएकाले सोमबारदेखि दैनिक बिहान ७ बजे नाका प्रवेश र साँझ ४ बजे नाकाबाट फर्किएर न्हेचुङ चेक पोस्टबाट भित्रिनुपर्ने कार्यतालिका सार्वजनिक गरिएको इञ्चार्ज थापाले जानकारी दिए । बहुचर्चित यहाँको उत्तरी कोरला नाकामा पुगेका नेपाली आन्तरिक पर्यटक नेपाल–चीनको २४ नं जङ्गे पिल्लरको प्रोफाइल राखेर राष्ट्रिय झन्डा फहराउँदै व्यक्तिगत र सामूहिकरुपमा फोटो तथा भिडियो खिच्ने गरेका छन् । कोरला नाका अवलोकनका लागि पुगेका नेपाली पर्यटकले नाका छेउ त्रिपाल टाँगेर व्यापार चलाएर बसेका सीमावर्ती क्षेत्रका व्यापारीसँग कोसेलीका रुपमा चिनियाँ सामान किनमेल गर्ने गरेको ढिन्डुप गुरुङले जानकारी दिए ।
नाकामा नेपाली पर्यटक आउन थालेपछि स्थानीय नाकामा व्यापार गर्न बसेका व्यापारी उत्साहित भएको उनले बताए । नाका पुगेका नेपाली आन्तरिक पर्यटकले उत्तरतर्फ सीमापारि चीनको तिब्बती भूमिमा निर्माण भएको भव्य संरचना हेरेर खिन्न हुन्छन् । चीनले उत्तर/दक्षिण व्यापारिक मार्गका रुपमा विस्तार गर्ने उद्देश्यले ठूलाठूला भव्य भौतिक संरचना बनाइसकेको छ ।