इनरुवा (सुनसरी) । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ ।
आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ रु. छ लाख बैंकबाट ऋण लिएर मियाँले केराखेती गरेका थिए । उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ । उनले करिब १३ लाखभन्दा बढीको क्षति पुगेको जानकारी दिए । केराखेतीमा वर्षेनी बाढीले १० लाखदेखि २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ ।
त्यसैगरी, सात कठ्ठामा एक लाख लगानी गरेर स्थानीय वीरेन्द्र ठाकुरले लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन् ।
कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको जानकारी दिए । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।