महेन्द्रनगर (धनुषा) । महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ ।
सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार, आज पनि रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार मन्दिर ल्याइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले बताए ।
कोजाग्रत पूर्णिमा हिन्दू धर्ममा विशेष महत्व राख्ने रात हो । धार्मिक विश्वासअनुसार, आज राति देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वर्षा गर्छिन् । त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रातका रूपमा लिने गरिन्छ ।
जानकी मन्दिरको विशेष पूजामा रतौलीबाट ल्याइएको भार समर्पित गरिन्छ । जुन जानकी र रामप्रति भक्तिको प्रतीकका रुपमा लिइन्छ । यस परम्पराले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक ऐक्यबद्धतालाई मजबुत बनाउँदै आएको पण्डित कुशेश्वर उपाध्यायले बताए ।
भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा ल्याइन्छ । सो परम्परा सयौँ सालदेखि चल्दै आएको छ । रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा छ ।
जानकी मन्दिरमा महोत्सव
कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिएको छ । कोजाग्रत पूर्णिमालाई भव्य बनाउन जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवका बेला हाँस्यपरिहास आयोजना हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।
महोत्सवलाई आकर्षक बनाउन मन्दिरमा भजन कीर्तन आयोजना गरिन्छ । महन्थ वैष्णवकाअनुसार मिथिलानीले आफ्नो ज्वाइँका लागि पनि भार पठाउने गर्छन् । यो परम्परा विगत ११५ वर्षदेखि चल्दै आएको बताइन्छ ।