काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौंको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो ।
मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति राखिएका छन् । जसलाई अर्धनारेश्वर ‘आदिनाथ’ भनिन्छ । मन्दिरमा हिन्दु र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने गर्दछन् । कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेलामा काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजन सहभागी हुने गर्र्छन् । मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किम्वदन्ती पनि छ ।
बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्ध धर्मावलम्बीको विश्वास छ । लिच्छविकालीन राजा अंशुबर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ ।