विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय
गरेको हो ।
विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने जनाइएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने बैठकले निर्णय गरेको छ । त्यस्तै, बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संक्टग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनः स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनः निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।
त्यस्तै, सुनसरी जिल्लामा वन पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्नेछन् । झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनः निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । बैठकले चालू बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनः निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ । मुख्यमन्त्री कार्कीले पुनः निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठकमा निर्देशन दिएका थिए ।