दोलखा । लगातारको अविरल वर्षासँगै पहिरो जाँदा जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुलेस्थित पात्ले सिमबारीका छ परिवार उच्च जोखिममा परेका छन् ।
बुधबार प्रमुख जिल्ला अधिकारीसहितको विपद् व्यवस्थापन समिति र सुरक्षाप्रमुखहरुको टोलीले पहिरो स्थल पुगेर स्थलगत अनुगमन गरेको हो । अनुगमनको क्रममा छ घर पहिरोको उच्च जोखिममा रहेको पाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । साथै, जोखिममा रहेका घरपरिवारलाई तत्काल स्थानान्तरणका लागि पहल भइरहेको उनले बताए । पहिरोले साविकको झुले गाविस वडा नम्बर–५ पात्ले सिमबारीका युवराज कार्की, लाल बहादुर ओझा, भक्त बहादुर कार्की, चक्र बहादुर कार्की, चन्द्रकुमारी कार्की र मान बहादुर कार्कीको घर उच्च जोखिममा परेको हो ।
बस्तीमुनिबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको हो । विगतका वर्षदेखि नै सुरु भएको पहिरो यस वर्षको १८/१९ गतेको लगातारको वर्षाले बढ्दै गएको थियो । वडाध्यक्ष ईश्वरराज कार्कीका अनुसार उच्च जोखिममा रहेका छ परिवारलाई घरबाट अन्यत्र सार्ने लागिएको छ । बस्तीमुनिबाट सुरु भएको पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ ।
यस्तै, दोलखाको विगु गाउँपालिका–१ लप्चीको खराने खोलाको माथि देउरालीमा भीषण पहिरो जाँदा पदमार्गमा क्षति पुगेको छ । दोलखाको लामाबगर–खरानेखोला हुँदै लप्ची जाने एक मात्र पैदलमार्गमा मंगलबार भीषण पहिरो गएको हो । चीनको सिमाना नजिकै रहेको लप्चीमा बौद्ध गुम्बा र मेडिटेसन सेन्टर छ । पर्यटकीय सिजन भएकाले त्यस क्षेत्र घुम्न धेरै पर्र्यटक जाने गरेका छन् । प्रहरीले तत्कालका लागि त्यसतर्फ जान रोक लगाएको छ ।