काठमाडौं । मार्जिन लोन अर्थात शेयर धितो कर्जा सम्वन्धी नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको परिपत्रको सकारात्क प्रभाव बिहिबारको शेयर बजारमा देखिएको छ । सो अनुसार यसघि लगातार उच्च अंकले ओरालो लागेको बजार परिसुचक नेप्सेमा बिहिबार सकारात्मक सर्किट लागेको छ भने सुचक तथा कारोबार रकम दुबै बढेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै शेयर धितो कर्जाको एकल कर्जा ग्राहक सिमामा यसअघि लगाएको २५ करोडको क्याप हटाएको छ । सोहीकारण पनि यसको सकारात्मक प्रभाव बिहिबारको शेयर बजारमा देखिएको हो ।
अघिल्लो दिन ४५ दशमलव ३६ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्सेमा आज सकारात्मक सर्किट नै लागेको छ । बजार खुलेको ३ मिनेटमा नै नेप्से परिसुचक चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । सो पश्चात ११ बजेर २३ मिनेटमा खुलेको शेयर बजार क्रमश सम्हालिएको छ । सो अनुसार आज नेप्से परिसुचक २२ दशमलव ५९ अंकले उकालो लागेर २५ सय ८२ दशमलव १८ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८४ अंकले उकालो लागेर चार सय ५१ दशमलव ३१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ५६ हजार तीन सय २१ पटकको कारोबारमा एक करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब २७ करोड ३२ लाख २१ हजार चार सय ७९ रुपैंयाँ कायम भएको छ ।
आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा व्यापार उपसमुहको सामान्य अंकले घटेको छ । यो बाहेक बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।