भ्रष्टाचारले समाजमा असमानता ल्याउँछ । भ्रष्टाचारले कमाएको पैसाले आपराध निम्त्याउँछ । धनी र गरिबको खाडल अझै बढाउँछ र समाजलाई नै विभाजनतर्फ लैजान्छ । एकातिर भ्रष्टाचारले यी सबै कुरा ल्याउँछ भने अर्कोतिर भ्रष्टाचारीहरूले नै समाजलाई बिगार्ने काम गर्छन् । सहजै पैसा आउने हुँदा नचाहिने काममा बढी पैसा खर्च हुन्छ र उनीहरूलाई पैसाको दम्भ बढी, अझै असामाजिक कार्य गर्ने र गराउनेमा खर्च गर्न प्रेरित गर्छ । त्यसैले, नेपालको सामाजिक, आर्थिक र राजनीतिक विकासमा बाधा पुर्याउने प्रमुख कारण नै भ्रष्टाचार हो । भ्रष्टाचारले केवल सरकारी निकायमै सीमित नभई यो निजी क्षेत्र, सामाजिक जीवन र जनमानसमा समेत गहिरो असर पुर्याइरहेको छ । बाहिरबाट हेर्दा नेपालको अवस्था नाजुक छ भने भ्रष्टाचारले राष्ट्रको नीतिगत दिशा पनि कमजोर बनाउनुका साथै मानिसको योग्यतालाई समेत दबाइरहेको छ र एक–अर्कामा अविश्वास आई निराशाको वातावरण समेत सिर्जना गरिरहेको छ । भ्रष्टाचार किन हुन्छ र कसरी रोकथाम गर्ने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
१. समान शिक्षा र नैतिक शिक्षा नहुनु
नेपालमा शिक्षाको पहुँच र गुणस्तर समान छैन । बच्चैदेखि राज्यलाई कसरी बनाउने, जसरी छ त्यसमा सन्तुष्ट हुने, पाप के हो धर्म के हो भन्नेजस्ता शिक्षा नदिनुले पनि भ्रष्टाचार बढिरहेको छ । पढाइमा गाउँ–सहर, धनी–गरिब, सरकारी–निजी विद्यालयबीच ठूलो अन्तर छ । एक जनाले ठूलो विद्यालयमा पढ्छ, धेरै खर्च गर्छ तर अर्कोलाई कुनै सुविधा छैन भने आफ्ना बालबालिकालाई पनि त्यस्तै शिक्षा दिन वा सहरमा पढाउने इच्छाले मानिसलाई जहिल्यै जकडाइरहेको हुन्छ । त्यसैले देखासिकी र समान बन्ने चाहनाले भ्रष्टाचारलाई बढावा दिन्छ जुन कुरा पूरा गर्न सोझो तरिकाले आम नेपालीलाई पूरा गर्न गाह्रो हुन्छ । साथै, असमान शिक्षाले नैतिक चेतना र जिम्मेवारीको भावना पनि कमजोर बनाउँछ । जब नागरिकमा नैतिकता कमजोर हुन्छ, तब भ्रष्टाचारको बीउको निर्माण हुन्छ अनि समाजमा फैलिन्छ ।
त्यसैले, शिक्षामा सुधार र नैतिकता शिक्षाको आवश्यकता आजको माग हो । विद्यालय तहदेखि नै नैतिकता के हो, राष्ट्रलाई कसरी समृद्ध बनाउने, इमानदारिता कसरी ल्याउने र सार्वजनिक सम्पत्ति कसरी जोगाई देशलाई अग्रगामीतर्फ लैजाने भन्ने शिक्षा आजको आवश्यकता भएको छ । अर्काको घरमा त्यत्तिकै छिर्नु, अर्काको सम्पत्ति त्यत्तिकै हत्याउन खोज्नु र गैरकानुनी कार्य गर्नु हुँदैन भन्ने शिक्षा सबै नागरिकमा भएको भए आज यो अवस्था आउने थिएन । त्यसैले नागरिक जिम्मेवारीसम्बन्धी शिक्षा अनिवार्य गर्नुपर्छ । चेतनशील नागरिक बनाउनुमा देशमा भ्रष्टाचारविरुद्धको बलियो खम्बा हुन सक्छ ।
२. कानुनी कठोरता नहुनु
नेपालमा सबै किसिमका कानुन छन् । भ्रष्टाचार गर्न हुँदैन र गरेमा अपराधसरह हुन्छ भन्ने त सबैको मुखमै हुन्छ । कानुन त कडा छ तर त्यसको कार्यान्वयन राम्रोसँग नभएकाले अपराधीहरू सजिलै उम्किरहेका छन् । भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्ने हिम्मत हुँदा त कारबाही गर्न सकिन्थ्यो तर ‘तैँ चुप, म चुप’ भन्ने नेपाली उखानअनुसार सत्तामा पुग्नेहरूले पनि कारबाही खासै गरेको पाइँदैन । कारबाहीभन्दा पनि राजनीतिक संरक्षणले गर्दा अपराधीहरू अपराध गरिरहेका छन् र सबै मिल्ने परिपाटीले सजायको डर पनि हराएको छ । जब कानुनी संयन्त्र डरको विषय रहँदैन, तब गलत कार्य सामान्यजस्तो देखिन्छ र भ्रष्टाचारको अन्त्य गर्न गाह्रो भइरहेको छ ।
यसको अलावा, कानुनी प्रणाली सुदृढ बनाउने र जरैदेखि भ्रष्टाचार उखेल्ने संयन्त्र बनाउनु यो टाढाको विषय होइन । भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कानुनी कठघरामा उभ्याउनु नै राज्यको दायित्व हो र कोही पनि यदि भ्रष्टाचारमा संलग्न छ भने कारबाहीबाट उम्कन नपाउने व्यवस्था हुनुपर्छ । दण्ड नपाउने संस्कार अन्त्य गरेर न्यायको सन्देश छरी जनतालाई ‘राज्य छ’ भन्ने आभास दिलाउनुपर्छ ।
३. लोभ र लालचको प्रवृत्ति
आजको मानिस धेरै लोभ र लालचमा फसेको छ । जतिसुकै भए पनि ‘मै खाऊँ, मै लिऊँ, सुखसयल मै गरौँ’ भन्ने सोच व्याप्त छ तर लोभ र लालच मानिसको नैतिकता नाश गर्ने प्रमुख कारण हो । ‘थोरैमा सन्तुष्ट नहुनु र छिट्टै धनी बन्ने सोच’ हुनुले नै मानिस बेइमानीतर्फ आकर्षित हुन्छ । यस्तो प्रवृत्तिले कार्यक्षमता होइन, पहुँच र चापको संस्कृति बढाउँछ अनि सित्तै आएको पैसाले समाजलाई धमिल्याउँछ । नेपाली उखानअनुसार, ‘राजाको तेल पायो खाँस्तोमा थप्ने’ भन्नेजस्तै खान पाइयो भने जतिसुकै खानुपर्ने चलनले देशमा भ्रष्टाचार व्याप्त छ । तर यसको नियन्त्रण गर्नु जरुरी छ ।
४. कर्मचारीको तलब महँगीअनुसार नहुनु
भ्रष्टाचार हुनुको एक जड त कर्मचारीको तलब र श्रमिकको ज्याला खान लाउन र बच्चा पढाउन नपुग्नु नै हो । हालै सामाजिक सञ्जालमा आएको एक सन्देशअनुसार, ‘जागिर खाएर एक छाक मासु खानसमेत पैसा पुग्दैन’ भन्ने सन्देश निकै मार्मिक छ । अलिअलि सम्पत्ति हुने त लाउँछन्, खान्छन् जसरी जीवन धानेका छन् तर केही नहुनेलाई कोठा भाडा तिर्न, बच्चा पढाउन र आफूलाई दुई छाक राम्रो काम खुवाउन समेत पैसा नपुग्ने भएकाले यस्ता आम मानिसले कतै न कतैबाट भ्रष्टाचार गर्छन् ।
यसको अलावा, यदि राज्यले समय र परिवेशअनुसार व्यवस्था गर्न सक्यो, समान शिक्षा र रोजगार प्रदान गर्न सक्यो र सहजै औषधि उपचार आम मानिसले पाउने व्यवस्था भयो भने यो नियन्त्रण गर्न सकिन्छ । सुविधा पाएर पनि भ्रष्टाचार गर्नेहरूलाई कानुनी कठघरामा तुरुन्तै उभ्याउन सकिएमा यसको निराकरण सहज हुन्छ । तर नेपालमा धेरै सरकारी कर्मचारीको तलब जीवनयापनका लागि पर्याप्त छैन । जब आम्दानी र खर्चबीच असन्तुलन हुन्छ, तब कतिपय कर्मचारी भ्रष्टाचारमा संलग्न हुन बाध्य हुन्छन् । यसो भन्दैमा सबै कर्मचारी बेइमान हुँदैनन् र छैनन् पनि । उनीहरूको सम्मान आवश्यक छ तर आर्थिक दबाबले गलत बाटोतर्फ धकेल्ने सम्भावनाचाहिँ अभावले नै रहन्छ । त्यसैले तलब र सुविधामा सुधारको जरुरत छ । कर्मचारीहरूको तलब महँगीअनुसार परिमार्जन गर्नुपर्छ । पर्याप्त पारिश्रमिकले इमानदार सेवा गर्न प्रेरणा दिन्छ र नियमन पनि जरुरी छ ।
५. भविष्यको अनिश्चितता
नेपालमा राजनीतिक अस्थिरता जहिल्यै पनि छ । त्यसैले ‘मौकामा चौका हान्ने’ जो–कोही चाहन्छन् र रोजगारीको असुरक्षाका कारण मानिसहरू तात्कालिक लाभतर्फ अग्रसर हुन्छन् । जब भविष्यप्रति विश्वास घट्छ, तब मानिसहरू छोटो समयमा धेरै कमाउने सोच राख्छन्, जसले भ्रष्टाचारलाई बढावा दिन्छ ।
६. केन्द्रमुखी शासन र राजनीतिक हस्तक्षेप
नेपालमा शासन प्रणाली अझै पनि अत्यधिक केन्द्रमुखी छ । नेपालमा धेरैजसो राजनीतिक नियुक्ति पैसा र शक्तिको आधारमा हुने हुँदा यसको अन्त्य हुनुपर्छ । स्थानीय तहका निकायहरूले जिम्मेवारीका काममा स्वतन्त्रता पाउँदैनन् । अर्कोतर्फ, नियुक्ति र पदोन्नतिमा राजनीतिक हस्तक्षेपले दक्षता होइन, पहुँचलाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ । त्यसैले, राजनीतिक हस्तक्षेप नियन्त्रणको जरुरी छ । प्रशासनिक निकायलाई स्वतन्त्रता दिनुपर्छ । नियुक्ति र पदोन्नति योग्यताका आधारमा हुनुपर्छ भने पहुँचका आधारमा हुनु हुँदैन ।
७. राज्य संयन्त्र कमजोर हुनु
न्यायालय, प्रहरी प्रशासन, लेखा परीक्षण, अख्तियार र अनुगमन गर्ने निकायहरू राजनीतिक प्रभावबाट मुक्त छैनन् जस्तो देखिन्छ । जब नियमन गर्ने निकाय नै कमजोर हुन्छ वा बेवास्ता गर्छ, तब भ्रष्टाचार रोक्ने पहलहरू नै हुँदैन । त्यसैले सशक्त नियामक निकायहरूलाई बलियो बनाउनुपर्छ र न्यायालयलाई राजनीतिक दबाबबाट मुक्त गरेर स्वतन्त्ररूपमा काम गर्न दिनुपर्छ । नियामक निकाय नै भ्रस्ट भए, देशलाई सुधार्न सकिँदैन । जनताले जहिल्यै दुःख मात्र पाउँछन् र अन्योलमा पर्छन् जसले गर्दा देशको छवि पनि धमिलो हुनुका साथै अन्तर्राष्ट्रियरूपमा पनि बदनाम भई देश जहिल्यै पछि पर्छ ।
८. ‘जुन गोरु आए पनि कान चिरेको’ संस्कार
नेपालमा परिवर्तन धेरै भयो, जुन नाम मात्रका भए पनि सरकार जुनसुकै नामको आए पनि सुशासन ल्याउने र भ्रष्टाचारलाई शून्यमा झार्ने प्रणाली कहिल्यै आउन सकेन र आम मानिसको चरित्रमा पनि सुधार आउन सकेन । सरकारले चलाउने ठोस कदममा परिवर्तन आउन सकेन । यस्तै परम्पराले नागरिकहरूमा झन् निराशा ल्याएको छ । बेला–बेला प्रतिशोध साध्न मात्र कारबाही गरेको हो कि जस्तो देखिन्छ भने आम परिवर्तन पटक्कै छैन । जब परिवर्तनप्रति विश्वास हराउँछ, ‘जो आयो पनि उस्तै हो’ भन्ने सन्देश आम मानिसमा हुन्छ, तब सुधारको अपेक्षा समाप्त हुन्छ र बेइमानी बढ्छ र भ्रष्टाचार सामान्य व्यवहार बन्दै गएको छ । ‘काले काले मिलेर खाऊँ भाले’ भन्ने संस्कारको विकासले पनि भ्रष्टाचार बढाएको छ ।
९. न्यायालय र अख्तियारको कमजोरी
न्याय प्रणालीमा ढिलासुस्ती र राजनीतिक प्रभावका कारण नागरिकमा विश्वास घटेको छ । अख्तियार तथा अन्य नियामक निकायहरूमा पनि राजनीतिक हस्तक्षेप हुँदा निष्पक्षता हराउँछ । तर सम्पत्ति छानबिन र सार्वजनिकता गरेमा भ्रष्टाचारको अन्त्य हुने थियो भने सार्वजनिक पदमा रहेका व्यक्तिहरूको वार्षिक सम्पत्ति विवरण अनिवार्यरूपमा सार्वजनिक गरी नागरिकले जानकारी पाउने अधिकार भएमा यसको अन्त्य हुन्छ ।
१०. नगद कारोबार र सम्पत्ति छानबिन नहुनु
नेपालमा अझै पनि नगद कारोबारको चलन बढी छ । डिजिटल प्रणालीको अभावले पारदर्शिता घटाउँछ । सार्वजनिक पदारीहरूको सम्पत्ति छानबिन नहुँदा अवैध आम्दानी सजिलै लुकाइन्छ ।
११. नेतृत्व कमजोर हुनु
देशमा धेरै नेताको उदय भयो तर भ्रष्टाचारमा शून्य सहनशीलताको नारालाई व्यवहारमा उतारिएन । इमानदार, दृष्टिवान् र साहसी नेतृत्वको कमी देशमा जहिल्यै खड्कियो र धेरै भ्रष्ट भए । जब नेतृत्व नै भ्रष्टाचारको सिकार हुन्छ, तब समाजमा गलत कार्य सामान्य बन्छ ।
१२. पाप र धर्मको ख्याल नहुनु
पहिले पहिले भन्थे, ‘बरु भोका बस तर अर्काको नखाऊ, चोरी नगर्नु र गलत काम नगर्नु पाप हो । तर अहिलेको कलियुगमा धेरै मानिस अरूलाई मारौँ, लुटौँ, चोरी गरौँ र भ्रष्टाचार गरेर कमाऊँ, बरु जग्गा–बज्गा छोडौँ, जसरी पनि पैसा कमाऊँ’ भन्ने प्रवृत्तिमा बढेका छन् । भ्रष्टाचार भनेको आचरणमै शुद्धता नहुनु हो । नगद लिनु वा नलिई आफ्नो अधिकारलाई निर्वाह नगर्नु नै भ्रष्टाचार हो ।
भ्रष्टाचारका असरहरूः
भ्रष्टाचारले बेइमानीता प्रदान गर्छ, शुद्ध मानिसलाई कमजोर बनाउँछ, देशको अर्थतन्त्र ध्वस्त पार्छ, प्रशासन फितलो हुन्छ, शिक्षा, स्वास्थ्य र न्याय प्रणाली सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्छ । अनागरिक नागरिक हुन्छ र नागरिकले दुख पाउँछ । विकासका काममा सोचिएको परिणाम आउँदैन र परियोजनाहरू ढिलो हुन्छन् अनि कमजोर बन्छन्, गुणस्तरहीन कार्य हुन्छ, र राज्यको स्रोतसाधनको दुरुपयोग बढ्दै जान्छ । नागरिकमा निराशा पैदा हुन्छ, सरकार र राज्यप्रति विश्वास घट्नुका साथै युवा पुस्तामा निराशा आई विदेशिक अध्ययन वा रोजगारीतर्फ आकर्षित हुन्छन् र भ्रष्टाचारले देशको बदनाम हुनुका साथै विकासलाई अवरुद्ध पार्छ र बेथिति बढ्छ ।
भ्रष्टाचार रोकथामका उपायहरू
अब भ्रष्टाचार रोकथामका उपायहरू रच्ने बेला आएको छ । डिजिटल कारोबार र ई–गभर्नेन्स प्रणाली लागू गरेर नगद कारोबार घटाउनुपर्छ । प्रत्येक ठाउँमा ‘चेक एन्ड ब्यालेन्स’ हुनुपर्छ । अनलाइन कर प्रणाली वा यस्तै अन्य कुराहरूमा पनि डिजिटलाइजेसन गर्नुपर्छ । यस्ता प्रणालीले पारदर्शिता बढाउँछ र भ्रष्टाचारलाई अन्त्य गर्छ । इमानदार र दूरदर्शी नेतृत्वले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सक्छ । नागरिकले पनि आफ्ना अधिकार र कर्तव्यबारे सजग भई गलत कार्यको विरोध गर्नुपर्छ ।
निष्कर्ष
अन्त्यमा, भ्रष्टाचार केवल व्यक्तिगत र प्रशासनिक कमजोरी मात्र होइन, यो आम प्रणालीकै समस्या हो । भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ । यसलाई नियन्त्रण गर्न राजनीतिक, प्रशासनिक, कानुनी प्रक्रिया, कर्मचारीतन्त्र, प्रहरी, सबै पक्षलाई सशक्त र सुदृढ बनाउनुपर्छ । आम शिक्षित र सचेत नागरिकले नै भ्रष्टाचारको नियन्त्रण गर्न सक्छन् । यसको लागि जिम्मेवार नेतृत्व चाहिन्छ र पारदर्शी प्रशासनको साथै कडा कानुनी संयन्त्रले मात्र देशलाई भ्रष्टाचारमुक्त बनाउन सक्छ । भ्रष्टाचारमुक्त नेपालको सपना अब साकार हुनुपर्छ । अब हामी आम नागरिकको आवाज नै भ्रष्टाचारमुक्त समाज हो । अब आउने नयाँ पुस्ताका लागि नेपाल विकसित राष्ट्रको रूपमा चिनिऔँ र भ्रष्टाचारमुक्त सभ्य समाजको निर्माण गरौँ ।