काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकलाई निर्वाचनमा सहभागिता हुने वातावरण तयार पार्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न बिहीबार शीतलनिवास पुगेको आयोगका पदाधिकारीको टोलीसँग पौडेलले उक्त आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिकाबमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न पनि आयोगलाई निर्देशन दिएका छन् । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने भावी कार्यक्रमहरूको सम्बन्धमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरेको भण्डारीले बताएका थिए ।
यस्तै, उनले मितव्ययीरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत साधन र जनशक्ति प्राप्त हुने तथा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्त भएको बताए । निर्वाचनको पूर्वतयारीका लागि आयोगका आन्तरिक प्रशासनिक विषयहरूलाई समेटेर तयार गरिएको कार्ययोजना बमोजिमका कार्यहरू योजनाबद्धरूपमा सम्पादन गरिरहेको र राजनीतिक दलहरू तथा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको पनि उनले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सुचारु रहेको उनको भनाइ थियो ।
निर्वाचन आयोगले स्वीकृत गरेको कार्ययोजनाबमोजिम आगामी दिनमा सम्पन्न गर्नुपर्ने निर्वाचन आचारसंहिता निर्धारण तथा कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, सो उपर छानवीन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदानलगायतका निर्वाचन कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालाहरूसँगको परामर्शमा तयार गरिने जानकारी गराएको छ भने निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रमहरू समयमा नै सम्पन्न हुने विश्वास दिलाएको छ । उक्त कार्यक्रममा निर्वाचन आयुक्तद्वय माननीय डा.जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर ज.ब.रा. तथा आयोगका सचिव महादेव पन्थ तथा सम्माननीय राष्ट्रपतिज्यूका विज्ञ सल्लाहकारज्यूहरू तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो ।