काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेलाई आवश्यक उपकरण तथा सर–सामान हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यही भदौ २३ र २४ गते जेन्जी पुस्ता आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपामा रहेका विभिन्न कार्यालय–सञ्चालनका सामान र उपकरण पूर्णरूपमा क्षतिग्रस्त भई दैनिक कार्यमा अवरोध उत्पन्न भएको थियो । उक्त अवस्थालाई दृष्टिगत गर्दै बैंकले कार्यालयलाई आवश्यक पर्ने दुई थान टेबल, दुई थान कुर्सी, दुई थान कम्प्युटर, एक थान प्रिन्टर र दुई थान युपिएस उपलब्ध गराई सहयोग गरेको हो ।
कर्पोरेट कार्यालयद्वारा हस्तान्तरण गरिएको यी सामग्रीहरू जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले हस्तान्तरण गरेका हुन् । सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो ।