तीन वर्षअघि विद्युतीय चुरोट ९भेप० भित्र लुकाएर गराइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन्। अख्तियारले बिहीबार टंगालस्थित आफ्नो कार्यालयमा महरालाई उपस्थित गराई सो प्रकरणबारे बयान लिएको हो। आयोगले यस प्रकरणमा संलग्न भन्सारका कर्मचारी र अन्य व्यक्तिहरूलाई समेत सोधपुछ गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार, महराले आफ्नो बयानमा चिनियाँ नागरिक दावाजिन वाङसँग चिनजान रहेको र सोही कारण भन्सारका कर्मचारीलाई फोन गरी भेप छुटाउन सहयोग गरेको स्वीकार गरेका छन्। महरालाई यसअघि पनि २०७९ सालमा सो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि तानिएको थियो। तर, राजनीतिक प्रभाव र सत्ताको पहुँचका कारण मुद्दा अगाडि नबढी अनुसन्धान रोकिएको थियो। त्यतिबेला उनी प्रहरी र सरकारी वकिल कार्यालय दुवैबाट हाजिरी जमानीमा छुटेका थिए। २०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोंगले फ्लाई दुबईमार्फत ल्याएको ७३ वटा भेप बट्टामा करिब ९ केजी सुन लुकाइएको थियो। भन्सारमा शंका लागेपछि ती भेप गोदाममा राखिएका थिए। तर त्यस अवधिमा गिरोहले भन्सारभित्रका कर्मचारीको सहयोगमा भेप साटफेर गरी सुन भएको भाग हटाएको पाइएको थियो। त्यो क्रममा महरा र उनका छोरा राहुल महराले भन्सारका कर्मचारी र तस्करहरूसँग पटक–पटक सम्पर्क राखेको प्रमाण फेला परेको थियो। भन्सार प्रशासक अरुण पोखरेललगायतलाई दबाब दिई भेप छुटाउन प्रयास गरिएको विवरण पनि छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले महराको भूमिकालाई “सन्दिग्ध” भन्दै पुनः अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसपछि सीआईबीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाए पनि सरकारी वकिल कार्यालयले फेरि हाजिरी जमानीमा रिहा गरेको थियो। अनुसन्धानमा महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारी र गिरोहका सदस्यहरूसँग २५६ पटक फोन सम्पर्क गरेको विवरण भेटिएको छ। त्यसमा दावाजिन वाङले मात्रै महरासँग ११ पटक र राहुलसँग २८ पटक सम्पर्क गरेको देखिएको छ। तीन वर्षअघि प्रहरीको प्रतिवेदनमा करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन तस्करीमा महरा बाबुछोरा संलग्न रहेको उल्लेख भए पनि मुद्दा दायर गर्दा उनीहरूलाई प्रतिवादी बनाइएको थिएन।