मस्को । सन् २०२४मा अजरबैजानको यात्रुवाहक विमान दुर्घटना रूसका कारण हुन पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक स्वीकार गरेका छन् । एएफपीका अनुसार अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँगको भेटमा पुटिनले रुसले युक्रेनी ड्रोनलाई लक्षित गरी क्षेप्यास्त्र परिचालन गरेको र ती विमानबाट केही मिटर टाढा विस्फोट भएको बताएका छन् ।
उनले भने, ‘रुसले यस्ता दुखद घटनामा क्षतिपूर्ति प्रदान गर्न आवश्यक सबै काम गर्नेछ र सबै अधिकारीहरूको कार्यको कानुनी मूल्यांकन गरिनेछ ।’ अजरबैजानी एम्ब्रेयर विमान आकाशबाट उच्च गतिमा अकताउ विमानस्थलको धावनमार्गभन्दा तीन किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो भने न ३८ जनाको मृत्यु भएको थियो।
अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको कारण शंकास्पद रहेको र सम्भावित मिसाइल आक्रमणको संकेत देखिएको उड्ययनविद्हरूले बताएका थिए । ‘एम्ब्रेयर १९०’ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्याको ग्रोज्नी सहरतर्फ उडान भर्ने क्रममा क्यास्पियन समुद्र पार गर्दै काजाकिस्तानको अक्टाउ नजिक दुर्घटना भएको थियो ।