काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएमा राजीनामा दिने चेतावनी दिएको भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेका छन्।
आइजीपी खापुङको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटवार्ता सौहार्दपूर्ण र नियमित सुरक्षा समन्वयका विषयमा केन्द्रित रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ,
‘केही दिनयता विभिन्न सञ्चारमाध्यममा प्रहरी महानिरीक्षकले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब दिइएमा राजीनामा दिने चेतावनी दिएको भन्ने भ्रामक समाचार प्रकाशित भएका छन्। प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने कुनै अभिव्यक्ति दिएका छैनन्।’
साथै, प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका छलफलहरूमा समसामयिक सुरक्षा अवस्था, शान्ति–सुरक्षा र सु–व्यवस्था कायम गर्ने विषयमा मात्र चर्चा भएको स्पष्ट गरिएको छ।
यसअघि केही सञ्चारमाध्यमहरूले प्रधानमन्त्री र गृहमन्त्रीले ओली–लेखकलाई पक्राउ गर्न दवाव दिएको र आइजीपी खापुङले त्यसमा असहमति जनाउँदै राजीनामा दिने चेतावनी दिएको समाचार प्रकाशित गरेका थिए।