काठमाडौं । जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमले आज राजनीतिक दलहरूलाई देशको समस्याको समाधानका लागि निर्वाचनमा सहभागी हुन स्पष्ट अपिल गरेकी छिन्। शीतल निवासमा गरिएको अपिलमा रक्षा बमले इतिहासले अहिलेका राजनीतिक दलहरूलाई गम्भीर मोडमा उभ्याएको भन्दै भनेकी छन् — “अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिज्याउने शैली नै हो। आजको आवश्यकता यस विद्रोहको सत्यलाई संस्थागत रूप दिने विवेकको हो।” उनले भनिन्, “या त जनताको विश्वास पुनःआर्जन गर्ने साहस देखाउनुहोस्, या फेरि इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस्।” उनका अनुसार नेपालको वर्तमान अवस्था नयाँ युगको प्रवेशद्वारमा उभिएको छ र अब पाखा पल्टिने होइन, मार्ग तय गर्ने समय आएको छ। रक्षा बमले चुनावमा जानु “राष्ट्रको साझा राजनीतिक जिम्मेवारी” भएको र यही प्रक्रियाले लोकतान्त्रिक निरन्तरता सुनिश्चित गर्ने दाबी समेत गरेकी छन्। उनको भनाइ थियो, “यही बाटो विद्रोहको औचित्यलाई संस्थागत बनाउने माध्यम हो।” अपिलमा प्रदिप ज्ञवाली, युजन राजभण्डारी, मनिष खनाल लगायतका जेनजी अभियन्ताहरू पनि सामेल थिए — जो आन्दोलनका प्रारम्भिक दिनका आह्वानकर्तामध्येका थिए। ती अभियन्ताहरू आज शीतल निवासमा छलफलका लागि गएका थिए। सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जेनजी साथीहरू र युवा पुस्तालाई परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने ऐतिहासिक घडीमा निर्वाचनमा लाग्न उनले आग्रह गरेकी छिन्।