काठमाडौं । एक महिनादेखि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अवस्था अज्ञात छ । योसँगै दिन बित्दै जाँदा घटना रहस्यमयी बन्दै गएको छ ।
भ्रष्टाचारविरुद्ध जेन–जी
पुस्ताले गत भदौ २३ गते विद्रोह गरेका थिए र त्यसैको निरन्तरता भनिएको २४ भदौको लुटपाट, आगजनी, तोडफोड र आठ घण्टाको कुटपिट र लछारपछारपछि नेपाली सेनाले देउवालाई आफ्नो कब्जामा लिएको थियो । प्रदर्शनकारीले उनको बुढानीलकण्ठस्थित निवासमा तोडफोड, लुटपाट र आगजनी मात्र गरेका थिएनन्, वृद्धावस्थाका नेता देउवालाई लछारपछार र कुटपिट पनि गरेका थिए ।
कुटपिटबाट उनको शरीरमा गम्भीर चोट लागेको बताइएको थियो र प्रदर्शनकारीहरुले नै सार्वजनिक गरेको भिडियोमा उनको शरीर रक्ताम्य भएको देखिएको थियो । उनलाई प्रदर्शनकारीले घरभित्रबाट लछारपछार पार्दै बाहिर निकालेर उनको घरमा तोडफोड लुटपाट र आगजनी गरेपछि उनीमाथि निर्ममरुपमा आक्रमण गरेका थिए । त्यही आक्रमणमा परेर उनी गम्भीर घाइते भएको आशंका गरिएको छ, तर आधिकारिकरुपमा कसैले त्यस घटनाका बारेमा अहिलेसम्म कुनै जानकारी दिएका छैनन् ।
प्रदर्शनकारीले देउवालाई आठ घण्टासम्म नियन्त्रणमा लिएर कुटपिट गर्दा उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी प्रदर्शनकारीसँग रमिते बनेका थिए । आठ घण्टापछि सेनाले नियन्त्रणमा लिएपछिको उनको अवस्था अहिलेसम्म पनि अज्ञात नै रहेको छ । प्रदर्शनकारीहरुको कुटपिटबाट छुटाएर आफ्नो नियन्त्रणमा लिएपछि सेनाले उनको उपचार गरेको विश्वास गरिएको छ ।
घाइते देउवाको शरीरमा १२ टाँका लगाइएको र असोज ७ गते उनको शरीरमा लगाएको टाँका काटिएको हल्ला बजारीकरण भएको थियो । त्यसपछि ९ गते उनी सालो भूषण राणाको जावलाखेलस्थित घरमा गएको पनि हल्ला सार्वजनिक भएपछि उनके सचिवालयको तर्फबाट भानु देउवाले त्यसको खण्डन गर्दै केही दिन अझै अस्पतालमै रहने बताएका थिए । तर उनले पनि पूर्वप्रधानमन्त्री देउवाको कुन अस्पतालमा उपचार भइरहेको भन्ने कुराचाहिँ खुलाएका थिएनन् ।
भदौ २४ गते नियन्त्रणमा लिएर सेनाले सभापति देउवाको उपचार गरेको आम विश्वास गरिए पनि स्वयम् सेनाले चाहिँ आजसम्म औपचारिकरुपमा केही बोल्न आवश्यक ठानेको छैन । ९ असोजमा जावलाखेलमा रात बिताएको भन्ने बजार हल्ला रहे पनि त्यसको औपचारिक पुष्टि हुन सकेको छैन । त्यहाँ रहँदा उनलाई जेन–जीको नाममा सुरक्षा चुनौती खडा भएकाले भोलिपल्टै उनी सेनाकै शरणमा पुगेको हल्ला पनि चलिरहेको छ, कसैले उनी चण्डोलतिर सरेको बताउँछन् र त्यसयताको उनको अवस्था झनै अज्ञात रहेको छ । अर्थात् हल्लापनि आउन छाडेको छ ।
भदौ २३ को जेन–जी विद्रोहपछि भदौ २४ को लुटपाट, कुटपिट, तोडफोड र आगजनीपछि सैनिक नियन्त्रणमा रहेको माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सिंहदरबारको ब्यारेकबाट बाहिरिएको केही दिनपछि नै सार्वजनिक भएका छन् भने जनविद्रोह दबाउने प्रधानमन्त्री केपी ओली भैरहवा, पोखरा, सुपारेटार, डुलाएर गुण्डुमा लगेर सेनाले छाडेपछि बाहुबलीहरुको घेरामा रहेका छन् । जेन–जी पुस्ताले उनको पछिल्लो लोकेसनको गुगल म्याप सार्वजनिक गरेपछि उनी झनै त्रसित बनेका छन् । प्रधानमन्त्री पदबाट अपदस्थ भएपछिका कथा व्यथाबारे मुख खोल्न डराइरहेका छन् तर जेनजी विद्रोहका बारे ठाउँ हेरेर बोल्ने र जेनजी विद्रोहपछि सत्तामा जान खुट्टा उचालेर थचारिएका माओवादी अध्यक्ष प्रचण्डसँग यसबारेमा सुन्नुपर्ने नयाँ कुरा केही देखिँदैनन् ।
भदौ २४ को घटनापछि सेनाले उनीहरुकै सुरक्षाका लागि गरेको सहयोगपछि स्थिति सामान्य हुँदै गएपछि सभापति देउवाबाहेक सबै सार्वजनिक भइसकेका छन् । तर सभापति देउवाचाहिँ कहाँ कस्तो अवस्थामा छन् भन्ने बारेमा स्थिति अझै अज्ञात नै रहेको छ । उनको रक्ताम्य शरीरको भिडियो सामाजिक सञ्जालमा देखिए पनि स्थिति के हो भन्ने राज्यका कुनै निकायले पनि अहिलेसम्म मुख खोलेका छैनन् । नेपाली सेनाले सभापति देउवालाई उद्दार गरेर उपचार गराएको भनिए पनि उनको बारेमा एउटा स्वास्थ्य बुलेटिन सार्वजनिक गर्न पनि आवश्यक ठानिएको छैन ।
तर प्रधानसेनापति अशोकराज सिग्देलले विदेशी राजदूतहरुलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन बोलाएको बैठकमा सोधिएको एक प्रश्नमा नेपालमा सैनिक ‘कू’ नभएको र आफूहरुले राजनीतिक उद्धार मात्र गरेको बताएका थिए । त्यो नै सत्य हो भने पनि अहिलेसम्म सभापति देउवाको अवस्था किन सार्वजनिक गरिएन भन्ने प्रश्न यथावत् रहेको छ ।
देउवाको उपचार छाउनीमा कि टोखामा भएको हो ? उनको स्वास्थ्य अवस्था के छ, उनी अहिले नेपालमा छन् कि विदेशमा छन् भन्ने चासो बढेको छ । किनकि विदेश भाग्न लागेको हल्ला पनि चलाइएको थियो । सत्य कुरो के हो कतै आएको छैन । उनीहरुको सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिने सेना मौन छ, त्यही सेनाको सहयोगमा बनेको सरकारले पनि मुख खोल्ने कष्ट गरेको छैन । कसैनकसैले त बोल्नुपर्ने थिएन र ? भन्ने प्रश्न यथावत् र अनुत्तरित रहेको छ ।
त्यसमाथि नेपाली कांग्रेसले सुरु गरेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा समेत देउवाको अनुपस्थितिले थप आशंका उब्जाएको छ । अहिलेका बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेकाले देउवालाई हटाउन चाहने पक्षलाई राहत भए पनि देउवा बारेमा कौतुहता झन् गहिरो भएको छ ।