धनगढी । सुदूरपश्चिम प्रदेशभित्र यस वर्षको दशैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट झण्डै नौ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।
प्रदेशका नौवटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजस्व संकलन गरिएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबैभन्दा बढी कैलालीबाट चार लाख ६७ हजार र कञ्चनपुरबाट एक लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
बझाङमा ६५ हजार, डोटीमा ६४ हजार, डडेल्धुरा र बैतडीमा ३४÷३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यलयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए । उनका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुल आठ लाख ७३ हजार राजस्व संकलन गरेको हो ।
यस्तै, प्रदेशभित्र दशैंको अवधिमा ४९ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् भने एक सय २२ जना घाइते भएका थिए । सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा २१/२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ । कैलालीमा चार जनाको मृत्यु भएको थियो भने कञ्चनपुरमा दुई जना, बैतडी र दार्चुलामा एक/एक जनाको मृत्यु भएको थियो ।