काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र जीआईजेडबीच सस्टेनेवल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजनाअन्तर्गतको सम्झौतामा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पर्याउने विश्वास गरिएको छ ।
सस्टेनेवल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजना र ग्लोवल ग्रीन ग्रोथ इन्स्टिच्युटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना माइग्रेसन एक्सन फ्यासिलिटीको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यस कार्यक्रमले करिब ३५ सय विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउनेछ । आर्थिक सिमाबद्धतालाई ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारीसाधनहरूलाई विद्युतीय सवारीसाधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले तथा ओपन लुप इ टिकेटिङ सिस्टमजस्ता डिजिटल सुविधाहरू समेत पनि प्रयोगमा ल्याइएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदान को व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिकरूपमा पनि सहज बनाउनेछ । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय दुईवटा शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइहरू तथा तीन सय १७ एटीएममार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।