काठमाडौं । जेन–जी आन्दोलनका कारण बीमा कम्पनीहरूको भुक्तानी दायित्व बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको हो । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल तीन हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको प्राधिकरणको भनाइ छ ।
निर्जीवन बीमा कम्पनीहरूले कुल दाबी रकममध्ये हालसम्ममा अग्रीम भुक्तानी समेत गरी करिब एक अर्ब ५८ करोड ५६ लाख बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि दुई हजार सात सय १० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा तीन सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । कुल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ छ सय ५३ वटा दाबी परेको र दाबी रकम करिव १९ अर्ब छ करोड ७६ लाख रहेको छ । सम्पत्ति बीमामा हालसम्ममा अग्रीम भुक्तानी समेत गरी बीमकहरूले करिब एक अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि पाँच सय ९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिपोर्ट प्राप्त भएको निर्जीवन बीमकहरूले जानकारी दिएका छन् । यसैगरी, मोटर बीमामा दुई हजार दुई सय छ वटा दाबी परेको र दाबी रकम करिब तीन अर्ब ४१ करोड छ लाख रुपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रीम भुक्तानी समेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको प्राधिकरणको भनाइ छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्यांकन एवं अनुगमनका लागि एक हजार नौ सय ३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा तीन सय १४को संख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बीमकहरूले दिएका छन् । यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय ९० वटा दाबी परेको र दाबी रकम करिब ३८ करोड तीन लाख रहेको छ । बीमकहरूले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रीम भुक्तानी समेत गरी करिब ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार आन्दोलनका क्रममा इन्जिनियरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्यांकन एवं अनुगमनका लागि एक सय २६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा पाँचवटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् । यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव एक करोड ६३ लाख रुपैयाँ रहेको छ । परिवहनमा भएको क्षतिको मूल्यांकन एवं अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब पाँच लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको प्राधिकरणको भनाइ छ । अन्य बीमातर्फको क्षतिको मूल्यांकन एवं अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट तीनवटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।
नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमै सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानीसम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीव्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।