काठमाडौं । टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको लक्ष्य दिएको थियो। जवाफी इङ्निङमा यूएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै सीमित भयो। नेपालका लागि ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले। कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेलले २० रन बनाए। अन्त्यतिर गुलशन झाले ५ बलमा १४ रनको तेज पारी खेले। नेपालले सुरुवाती १० ओभरमा मात्र १ विकेट गुमाएर ७३ रन बनाएको भए पनि मध्यक्रममा रनगति सुस्त भएपछि ठूला स्कोर गर्न सकेन।यूएईतर्फ अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेल्दा पनि टोलीलाई जित दिलाउन सकेनन्। ध्रुव पराशरले ३८ रनको योगदान दिए। यूएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो सम्भावना अझ बलियो बनाएको छ।