काठमाडौं । जेन–जी विद्रोहपछि बनेको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको कार्यालय निरीक्षण गरे । सो क्रममा विविध कारणले अनुसन्धान रोकिएका फाइलहरुको पुनः अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन दिएका थिए ।
त्योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका क्रममा लुकाइएका पात्रहरुमाथि छानबिन सुरु हुने जनअपेक्षा छ । यद्यपि, नेपाल प्रहरीको नेतृत्वले उक्त काण्डको अनुसन्धान महानगरीय जिल्ला प्रहरी परिषद् काठमाडौंले गरेकाले थप अनुसन्धान पनि उसैले अघि बढाउने दाबी गरेको छ । तथापि, त्यहाँबाट फाइल अघि बढ्ने सम्भावना कमै रहेको छ ।
नेपालबाट चिनियाँ नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको भनी नेपाल प्रहरीभित्रबाटै अनौपचारिकरुपमा छानबिन गरी प्रतिवेदन बनाएर अमेरिकी पक्षलाई बुझाएपछि अमेरिकाको दबाबमा नेपालमा नक्कली भुटानी शरणार्थी काण्डमाथि छानबिन र कारबाही सुरु भएको थियो । तर छानबिन र कारबाही गर्ने ठाउँमा चिनियाँ पक्षलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने पक्षको नै बोलवाला रहेकाले त्यसको निष्पक्ष छानबिन र उपयुक्त कारबाही हुन सकेन ।
यद्यपि, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका केही उच्चपदस्थ व्यक्तिहरुमाथिचाहिँ कारबाही सुरु भएको थियो । तर उनीहरुभन्दा माथिल्लो तहसँग जोडिएका व्याक्तिहरुलाई छानबिन र कारबाहीले छुन सकेको थिएन । त्यहाँसम्म कि खाँणलाई पक्राउ गरेपछि आफ्नो नाम जोडिएकोमा उनकी श्रीमती मञ्जु खाँणले सिधै काँग्रेस सभापति शेरबहादुर देउवाको नाममा ललाकारेकी थिइन् भने देउवा पत्नी आरजु राणाले वषौँदेखि मञ्जुसँग सम्पर्क नरहेको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।
पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राकेश बज्राचार्यको नाम छानबिन प्रतिवेदनमै समेटिएको छ भनेर ओलीका नातेदार अजय क्रान्ति शाक्य पनि त्यसमा जो कोइराला निवासका असल भारतीय मित्र बेचन झा त्यस काण्डमा पक्राउ परिसकेका छन् र उनीसँगै कांग्रेस नेता कृष्ण सिटौलाको नाम जोडिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परे पनि उक्त काण्डमा पोलिएका थापा अझै फरार रहेका छन् भने गिरोहका नाइकेहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङले रकम बुझाएको भनिएका व्यक्तिहरुको सत्तामा हालीमुहाली रहेको थियो । जेन–जी विद्रोहबाट सत्ता परिर्वतन भए पनि अझै केही व्यक्तिहरुको सत्ताको दादागिरी चलिरहेको छ ।
अहिले पनि प्रहरी प्रशासनमा उनीहरुको आदेश, निर्देशन चल्ने भएकाले उनीहरुमाथि कारबाही चल्ने सम्भावना शंकाको घेराभित्रै रहेको छ । पक्राउ परेकामध्ये पनि कतिपय व्यक्ति अदालतको आदेशमा छुटिसकेका छन् र उनीहरुले बाँकी बचेकालाई भुटानी शरणार्थी काण्डको रकम डिक्कीमा बोकेर हिँड्नेहरुले त्यही रकम खर्च गरेर त्यो घटनालाई सामसुम पार्न खोजेपछि अमेरिकी पक्ष झन् विछिप्त बन्दै गएको छ । प्रहरीभित्र अहिले पनि त्यसबारेमा दुई पक्षबीच आपसी टकराव रहेको देखिन्छ । तर उक्त काण्डको छानबिनका नाममा फाइदा उठाउन खोजेको प्रहरीको श्यामलाल ज्ञवाली पक्षचाहिँ पाखा लागिसकेको छ । उक्त काण्ड देउवा, ओली र प्रचण्डको चुलोचौकोसम्म जोडिएको छ ।
कारबाही अघि बढ्ने कुरामा अझै जनविश्वास जाग्न सकेको छैन । चिनीयाँ नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको काण्डमा स्वयम् देउवा र ओलीले नै रकम बुझेको बताइए पनि त्यसमा विश्वास गर्न सकिएको छैन । देउवाकी श्रीमती आरजु राणा र सालो भूषण राणाले रकम बुझेको कुरामा चाहिँ जनताले अविश्वास गर्न सक्ने अवस्था छैन । त्यसैगरी, ओलीले पनि आफैँ रकम बुझेको कुुरा कसैले पत्याएका छैनन् तर उनका पीए राजेश बज्राचार्य र आफन्त अजयक्रान्ति शाक्य तथा अन्जान शाक्यले रकम बुझेनन् होला भन्न सकिने ठाउँ देखिँदैन । अख्तियार प्रमुख प्रेम राईले आफूले रकम नबुझेको बारम्बार बताउँदै आए पनि बयान दिनेहरुले उनको गाडीको डिकीमा रकम राखिदिएको कुरा स्पष्टरुपमा बताइसकेका छन् ।
ज–जसका बारेमा जे–जस्तो आरोप लागे पनि त्यसको ठोस प्रमाण नेपाल प्रहरीबाट अमेरिकी पक्षमा पुगेपछि कारबाहीको पटक–पटक दबाब परेको स्रोतको दाबी छ । गृहमन्त्री अर्यालले उक्त मुद्दा हेर्न सीआईबीलाई भने पनि प्रहरी नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंलाई हेर्न भनेको छ । यस विषयमा विवादको पछिल्लो शृङ्खला कसले हेर्ने भन्नेबाट सुरु भएकाले नक्कली भुटानी शरणार्थी प्रकरणका बाँकी आरोपी पक्राउ पर्ने कुरा शंकाको घेराभित्रै छ । यसअघि प्रहरीले २०८० साल असार ९ गते आरजु राणा र कृष्ण सिटौलालाई पक्राउ गर्न आदेश भएर पनि पक्राउ गर्न सकेको थिएन ।