तेलअभिव — इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ।इजरायली सेनाका एक अधिकारीले आज (स्थानीय समय अनुसार बिहान साढे ७ बजे) विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्। राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सेनाका ती अधिकारीले भिडियो कन्फरेन्समार्फत इजरायलस्थित नेपाली दूतावास, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी तथा इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई जोडेर यो जानकारी दिएका थिए। ‘आईडीएफका अधिकारीले हामीलाई “विपिन इज नो मोर” भने,’ राजदूत पण्डितले बताएका छन्। गाजा क्षेत्रमा हमासको आक्रमणका क्रममा इजरायलमा कार्यरत विपिन जोशी सन् २०२३ को अक्टोबर महिनादेखि बेपत्ता भएका थिए। उनको अवस्थाबारे यता इजरायली सेनाले पहिलो पटक औपचारिक पुष्टि गरेको हो।