काठमाडौं । हरेक महिनाको अन्तिम शनिबार विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अभिनव साहित्य समाजको २८४औँ शृङ्खला राजधानीमा सम्पन्न भएको छ । समाजले राजधानीमा एक कार्यक्रम गरी अभिनव कमला संघर्षशील नारी सम्मान २०८२ पुराणवाचिकाद्वय गार्गी चौलागाईँ ‘शाकम्भरी’ र सरस्वती चौलागाईँ ‘शाम्भवी’ लाई संयुक्तरूपमा प्रदान गरेको हो ।
२५ हजार रुपैयाँ राशिसहितको यो सम्मान वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतले प्रदान गरेका थिए । समाजका अध्यक्ष ‘वेदमणि’ ले सम्मानित व्यक्तित्वद्वयको विषयमा जानकारी गराउँदै समाजका सत्पात्रहरूले सिङ्गो मुलुकलाई सही दिशानिर्देश गर्ने ल्याकत राख्ने टिप्पणी गरे । सोही अवसरमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित ‘अन्तर्मनका तरङ्ग’ नामक कथा सङ्ग्रहको लोकार्पण गरिएको थियो । सङ्ग्रहमा साहित्यकार अर्यालले समसामयिक परिवेशका विभिन्न ५१ वटा कथा सङग्रहित छन् ।
लोकार्पित कृतिको समीक्षा गर्दै साहित्यकार रमेश प्रसाद खनालले अर्यालका कथाहरूमा समग्र नेपाली समाज तथा देशको सजीव चित्र पाइने धारणा राखे । लामो समयदेखि विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थाहरूमा आबद्ध अर्यालका ‘समृद्धि’ संयुक्त मुक्तक सङ्ग्रह (२०७९) र ‘आवरण’ कविता सङ्ग्रह (२०८१) प्रकाशित भइसकेका छन् । कार्यक्रममा उपस्थित स्रष्टाहरूले मुलुकको समसामयिकसहित अन्य विषयमा केन्द्रीत रही कविता तथा मुक्तकहरू प्रस्तुत गरेका थिए ।