काठमाडौं ,टोखामा २५ करोड रुपैयाँभन्दा बढी रकमसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार भएका छन्। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का फुच्चे भनेर चिनिने लामा सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट भदौ २४ गते राति फरार भएको खुलेको हो। कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको फरार कैदीहरूको सूचीमा लामाको नाम पनि समावेश छ। फरार भएको एक महिना बितिसक्दा पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन्। लामा ४ चैत २०८१ मा टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको ट्रक (ना ७ ख १६५२) चलाउने व्यक्ति हुन्। उक्त ट्रकबाट प्रहरीले विभिन्न दरका १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको थियो। उक्त रकम तत्कालीन विनिमय दरअनुसार करिब २५ करोड १९ लाख रुपैयाँ बराबरको थियो। प्रहरीले पक्राउ गरेका लामा र रकमसहितको ट्रक राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा पठाएको थियो। विभागको अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोककै नारायण पौडेलको रहेको प्रमाण खुलेको थियो। राजस्व अनुसन्धान विभागले विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत लामा र पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो। पुर्पक्षका लागि लामा कारागार चलान भएका थिए भने पौडेल पछि अदालतमा उपस्थित भई ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए। फरार लामा यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भइसकेका छन्। उनी १३ पुस २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए र सो प्रकरणमा ५ वर्ष जेल सजाय भोगेपछि २०७८ मा रिहा भएका थिए। लामाजस्तै करिब साढे ५ हजार कैदीबन्दी अझै देशभर फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।