चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार बिहान रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानी भरिएको एउटै खाल्टोमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाको १५ वर्षीया छोरी मौसमीकुमारी बैठा रहेको जानकारी दिए ।
प्रहरी निरीक्षक महतोले घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टिस्थित भित्री सडक खण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर मुत्यु भएको बताए । सोमबार बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएकामध्ये चार जनाले सकुशल पानीको खाल्टो तरेको र बाँकी तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक महतोले बताए ।
उनले सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेको जानकारी दिए ।
बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको उद्धार गरेको समेत उनले बताए ।
उद्धारपछि उपचारका लागि बालिकाहरूलाई प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा चिकित्सकहरूले परीक्षण गर्दा तीनैजना बालिकालाई मृत घोषणा गरेको महतोले जानकारी दिए । केही दिन अगाडि पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो ।