काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासको कब्जामा परेका नेपालका विपिन जोशी जीवितै घर फर्किने आशा समाप्त भएको छ । जीवित रहेका २० बन्धकमा उनी नपरेपछि इजरायली सेना आईडीएफले नेपाली राजदूतावास र जोशीका परिवारलाई उनी जीवित नरहेको बताए पनि परराष्ट्र मन्त्रालयले अवस्था अज्ञात रहेको बताएको थियो ।
तर सोमबार राति हमासले मृतक चार जनाको शव पठाउने जनाउँदै जोशी जीवित नरहेको पुष्टि गरेको थियो । सीएनएनका अनुसार सोमबार राति हमासले जोशीसहित चार मृतक बन्धकको शव इजरायललाई हस्तान्तरण गरेको छ । इजरायली अधिकारीहरुले हमासले चारै मृतक बन्धकको शव रेडक्रसलाई हस्तान्तरण गरेको बताएका छन् ।
गाजाकै भूभागमा जोशीसहितका बन्धकहरुको शव हस्तान्तरण गरिएको हो । मृतक चार बन्धकमा जोशीसहित डानियल पेरेट्ज, योसी शाराबी, गाई इलज पनि छन् । मृतकहरुको डीएनए समेत परीक्षण गरिएको सीएनएनले उल्लेख गरेको छ ।