काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेका हुन् ।
महरा आइतबार पक्राउ परेका थिए । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरूपमा सुन भित्र्याएको आरोप छ । नेता महरासहितविरुद्ध कुल आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।
महरालाई भन्सार ऐन, सुन तस्करीसम्बन्धी अपराध र संगठित अपराध ऐनअन्तर्गत तीनवटा अभियोगमा मुद्दा दायर गरिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा महराको बयान र थुनछेक बहस हुनेछ । सो बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ । अदालतले धरौटी तोकेमा सो बराबर रकम बुझाएमा भने उनी रिहा हुन सक्छन् ।
२०७९ साल पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा सात सय ३० वटा भेपमार्फत नौ किलो सुन तस्करी गरेको प्रकरणमा महरा जोडिएका हुन् । उक्त प्रकरणमा उनको छोरा राहुल महरामाथि पनि प्रहरीले अनुसन्धान गरेको छ । उनी पहिला नै पक्राउ परेका थिए । नेता महराले विमानस्थल भन्सार कार्यालयबाट उक्त सुन छुटाउन कर्मचारीलाई फोन गरेको प्रमाण फेला परेको बताइएको छ ।
सोही प्रकरणमा नेता महरा २०८० चैत ५ गते पक्राउ परेका थिए । तर, त्यतिबेला प्रहरीले मुद्दा दायर नगरी रिहा गरेको थियो । पछिल्लो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही दिनअघि महराको सोही विषयमा बयान लिएको थियो । माओवादीका केही नेताहरुले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा हत्या अभियोग लागेकालाई पक्राउ नगरी महरालाई मात्र पक्राउ गरिएको भन्दै सुन तस्करीको पक्षपोषण गरेका छन् । महरामाथि अपराधका विभिन्न आरोप लाग्ने गरे पनि राजनीतिक शक्तिको आडमा जोगिँदै आएका थिए । माओवादी युद्धको बेला नेतृत्वदायी भूमिका निर्वाह गरेका महरा शान्ति प्रक्रियामा आएपछि पनि निरन्तर शक्तिमा रहिरहे ।
गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका उनी पछि उपप्रधानसहित अर्थ, गृह, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालयहरुमा रहे । महरामाथि चिनियाँसँग मिलेर सांसद खरिद बिक्रीका लागि रकम मागेको अभियोग लागेपछि उनी विवादमा पर्न थालेका हुन् । महरा सभामुख भएकै बेला संसद् सचिवालयमै कार्यरत एक महिलामाथि बलात्कारको आरोप पनि लागेको थियो । उनी २०७४ साल फागुन २६ मा सभामुख भएका थिए । बलात्कारको आरोप लागेपछि बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । ती महिला कर्मचारीको भने अहिले निधन भइसकेको छ ।