काठमाडौं । नेपाल वायुसेवा निगमको काठमाडौं—ग्वाञ्जाओ—काठमाडौं सेक्टरको नियमित उडान रद्द गरेको छ । स्रोतका अनुसार यात्रु अभावपछि निगमले उडान रद्द गरे पनि सोमबार राति विज्ञप्ति जारी गर्दै आन्तरिक कारणलाई देखाएको छ ।
‘नियमित उडान तालिकाबमोजिम आगामी १६ अक्टोबर २०२५ को काठमाडौं—ग्वाञ्जाओ उडानमा ६८ जना यात्रु तथा १७ अक्टोबर २०२५ को ग्वाञ्जाओ—काठमाडौं उडानमा ४१ जना यात्रुहरुको टिकट बिक्री भइसकेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘२३ अक्टोबर २०२५ को काठमाडौं—ग्वाञ्जाओ र २४ अक्टोबर २०२५ को ग्वाञ्जाओ—काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको छ । नियमित उडान तालिकाबमोजिम १९ अक्टोबर २०२५ को काठमाडौं—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले गर्दा रद्द गरिएको र सो उडानका सम्पूर्ण यात्रुहरुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको छ ।’
तर स्रोतले भने ग्वाञ्जाओ उडानमा यात्रु नै नआएपछि निगमपछि हटेको हो । तर निगमले भने उक्त उडानमा यात्रु संख्या कम भई रद्द गरिएको समाचारमा सत्यता नभएको दाबी गरेको छ । त्यसो त निगम आफैँले भनेको आन्तरिक कारणबारे थप केही पनि खुलाएको छैन ।
‘निगमको यो नयाँ गन्तव्य भएको र उक्त सेक्टरको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सु–सूचित गर्ने कार्य जारी छ’, विज्ञप्तिमा थपिएको छ, ‘टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चार जगतलगायत सबैमा अनुरोध गर्दै उडान तालिकाबमोजिमको समयमा पर्याप्त टिकट बिक्री हुनेमा निगमको विश्वास रहेको छ ।’