धनगढी । धनगढीको गोदावरी नगरपालिका–१०, खमौरा शिविर टोलका ३५ वर्षीय शेरबहादुर चौधरीको हत्या भएको छ । छिमेकी लक्की मल्ल र उनका भाइ विकास मल्लले बिहेको पार्टी नदिएको भन्दै शेरबहादुरमाथि कुटपिट गरी हत्या गरेको चौधरी परिवारले आरोप लगाएको छ ।
गत असोज २३ गते राति २ बजे लक्की मल्ल र विकास मल्ल चौधरीको घरमा पुगेर ढोका हान्दै ज्यान मार्ने धम्की दिएका थिए । डरले घरको पछाडिको ढोकाबाट भागेका शेरबहादुरको शव भोलिपल्ट असोज २४ गते बिहान ओलानी र गोदावरी खोलाको दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए । शवमा दुवै पाखुरा, खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोटपटकको गम्भीर निसान देखिएको मृतकका आफन्तले बताएका छन् । मृतककी आमा पुतली डगौराका अनुसार शेरबहादुरको घाँटी पछाडि डुङ्गाले हानेको गहिरो चोटसमेत देखिएको छ । गत बैशाख १७ गते शेरबहादुरले आफ्नो कान्छो भाइको विवाह गराएका थिए । सो अवसरमा लक्की मल्ल पनि सहभागी थिए तर आफूहरुलाई छुट्टै पार्टी नदिएको भन्दै उनीहरु रुष्ट भएका थिए । परिवारका अनुसार यत्तिकै कारण मल्ल दाजुभाइ पटक–पटक घरमा आएर झगडा गर्दै आएका थिए ।
असोज २३ गते पनि लक्की मल्ल विनोद मल्ललाई लिएर चौधरीको घर पुगेका थिए । मृतककी भाइबुहारी सलिना चौधरीका अनुसार उनले जबरजस्ती मासु पकाउन लगाएका थिए । त्यसपछि मल्ल दाजुभाइले रमेश चौधरीलाई अत्तरियास्थित एक डान्सबारमा लगेर निर्घात कुटपिट गरेका थिए । राति घरबाट भागेका शेरबहादुरको शव भेटिएको स्थानमा मोटरसाइकलको टायर चिप्लिएको निसान देखिएको आफन्तले बताएका छन् । सलिना चौधरीका अनुसार शेरबहादुर घरबाट निस्कनासाथ मल्ल दाजुभाइले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरी खोलामा फालेको आशंका गरिएको छ । घटनापछि चौधरी परिवारले लक्की मल्ल र विकास मल्लविरुद्ध किटानी जाहेरी दिएको छ । तर मल्ल दाजुभाइको सामाजिक पहुँचका कारण परिवारले न्याय नपाउने चिन्ता व्यक्त गरेको छ । साथै, आफन्तहरूबाट धम्की आइरहेको भन्दै चौधरी परिवारले आफ्नो सुरक्षाको माग समेत गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव असोज २५ गते पोस्टमार्टमपछि परिवारलाई बुझाइएको थियो । शेरबहादुर खेती किसानी र ट्याक्टर चलाउने काम गर्दै आएका थिए । उनकी सात वर्षीया छोरी छिन् भने श्रीमतीसँग डिभोर्स भइसकेको थियो ।