काठमाडौं । सामाजिक अभियन्ता उज्वल विक्रम थापाले जनचेतनाको अभावमा जलनको समस्या थप विकराल बन्दै गएको बताएका छन् ।
अरुणिमा परोपकार प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभामा जलन पीडितहरूको उद्धारमा खटिँदै आएका थापाले उक्त कुरा बताएका हुन् । उनले सामाजिक संस्थाहरुले जलनसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिए । थापाले प्रतिष्ठानले सञ्चालन गरेका कायक्रमहरुले अवसरबाट बञ्चित तथा जेहेन्दार विद्यार्थीहरूलाई लाभ मिलेको बताए । साधारणसभामा वरिष्ठ प्लास्टिक सर्जन डा. शङ्करमान राई, प्रतिष्ठानका आजीवन सदस्य शोभा खनाल, अक्षय कोष योगदानकर्ताहरु महेशप्रसाद पराजुली, गोपालप्रसाद बराल, आदर्शजंग पाण्डे तथा सिर्जना बस्नेतलाई अभिनन्दन गरिएको थियो । अभिनन्दित व्यक्तित्वका तर्फबाट शोभा खनालले प्रतिष्ठानका मूल तथा सहायक अक्षयकोषहरूमार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरिन् ।
प्रतिष्ठानका सल्लाहकार सदस्य वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्य, कृष्ण कुमारी केसी, अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले संस्थाको आवश्यकता बोध, स्थापना तथा विकाससँग सम्बन्धित पक्षबारे जानकारी दिएका थिए । अवसरबाट बञ्चित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पुर्याउने परोपकारी एवम् लोककल्याणकारी भूमिकासहित अरुणिमा परोपकार प्रतिष्ठान गठन भएको कार्यक्रममा जानकारी दिइयो । प्रतिष्ठानमा हाल एउटा मूल अक्षयकोष र ११ वटा सहायक अक्षयकोषहरुको स्थापना भइसकेको छ । प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रतिष्ठानका उपाध्यक्ष बटुप्रसाद न्यौपाने, सचिव जितेन्द्र श्रेष्ठ लगायतले प्रतिष्ठानका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानमा दुई सय १७ जना आजीवन सदस्य रहेका छन् । प्रतिष्ठानमा मूल अक्षय कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त गरी ३० लाख ८८ हजार छ सय चार रुपैयाँ रहेको छ ।