काठमाडौं । सहकारी ठगीमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेस काभ्रेका नेता चन्द्रबहादुर लामा (सीबी लामा) पार्टीको काममा सक्रिय रहेको पाइएको छ ।
कान्तिपुर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड तथा पशुपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमध्ये एउटामा चन्द्रबहादुर लामा र अर्कोमा सीबी लामाको नामले सहकारीको कार्यकारी पदमा रहेका लामाले अर्बौँ रकम अपचलन गरी सर्वसाधारणलाई ठगेको उजुरीपछि पक्राउ परेका लामा त्यसयता पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
गत भाद्र २३ र २४ गते जेन–जीले आह्वान गरेको आन्दोलनका क्रममा भागेका लामा त्यसयता पार्टीको काममा सक्रिय रहँदै आएको पाइएको हो । नेपाली कांग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष लामाले पार्टीको विशेष महाधिवेशनको माग गर्दै संकलन भएको हस्ताक्षर अभियानमा समेत हस्ताक्षर गरेको पाइएपछि उनी पार्टीको काममा सक्रिय रहेको पाइएको हो । नेपाली कांग्रेसको महाधिवेशन समितिका सदस्य लामाले २०७४ को प्रदेश सभाको उम्मेदवार रहेका थिए ।