काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ ।
विभागले मंगलबार एक सूचना प्रकाशित गरीे दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौं उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यकाबाहिर २० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, २० लिटर जारको पानीको काठमाडौं उपत्यकाका लागि ४७ रुपैयाँ र उपत्यकाबाहिरका लागि ६० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए । विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने सूचनामार्फत जनाएको छ । विभागले पानी विक्रेताले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आमसर्वसाधारणमा अनुरोध गरेको छ ।