नेपालको सांस्कृतिक र कृषि इतिहासमा फूलहरूको स्थान विशेष छ । नेपालीहरूको महान् चाड तिहार पर्व नजिकिँदै गर्दा घर, आँगन, बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यावसायिक प्रवद्र्वन गर्न, समयअनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका कार्यक्रमहरू आयोजना गर्ने गरेकोे जनाएको छ । यसको अलवा घर आँगन सजाउने र पूजापाठमा प्रयोग हुने परम्परा प्राचीन कालदेखि नै चलेको छ । यसै परम्परालाई जीवन्त राख्न र फूल खेतीलाई व्यावसायिकरूपमा प्रवर्द्धन गर्न फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले वार्षिकरूपमा गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्दै आएको छ । यो वर्ष अर्थात् २०८२ मा १८औँ संस्करण ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगनवरिपरि’ भन्ने नारासहित आयोजना हुन लागेको छ । यो नारा नै प्रदर्शनीको मूल उद्देश्यलाई प्रतिविम्बित गर्दछ । जसलाई भन्ने नै हो भने गोदावरी फूल रोपेर घर तथा वरपरका आँगनहरूलाई सजाउन प्रेरित गर्ने र नेपालीहरूको महान दोस्रो पर्व तिहार तथा छठलाई फूलमय बनाउनु नै हो ।
यो प्रदर्शनी असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा हुनेछ । फलतः फ्यानले आयोजना गरेको यो एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी हो । जसले नेपालको पुष्प व्यवसायलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । जुन प्रदर्शनीमा ९० वटा स्टलहरू रहनेछन् । जसमध्ये ८० व्यावसायिक, १ प्लान्ट क्लिनिक, ५ आधिकारिक, २ प्रतियोगितात्मक र २ फोटो सेल्फी स्टलहरू रहनेछन् । वस्तुतः तिहार तथा छठ पर्वलाई लक्षित यो मेलाले फूल व्यवसायीहरूलाई बजार उपलब्ध गराउने मात्र नभई आमजनतालाई गोदावरी फूलको महत्व र खेती विधिबारे जानकारी दिन पनि सफल हुनेछ ।
गोदावरी फूल (क्राइसेन्थेमम) नेपालको एक प्रमुख सजावटी फूल हो । जसको उत्पत्ति चीनमा भएको मानिन्छ । तर जापानमा यसलाई राष्ट्रिय फूलको रूपमा सम्मान गरिन्छ । नेपालमा यो फूल असोज–कार्तिक महिनामा पूर्णरूपमा फुल्छ र तिहारको पूजामा विशेष प्रयोग हुन्छ । यो प्रदर्शनीले यस्ता फूलहरूको विविधता प्रदर्शन गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिन्छ । यस अर्थमा प्रदर्शनीको इतिहास, महत्व, तयारी, क्रियाकलापहरू र प्रभावबारे विस्तृत चर्चा गरिनेछ ।
गोदावरी फूलको परिचय र महत्व
गोदावरी फूल, जसलाई नेपालीमा ‘गर्दौली’ पनि भनिन्छ, क्राइसेन्थेमम जीनसम्बन्धी एक प्रजाति पनि हो । यसको वैज्ञानिक नाम क्राइसेन्थेमम मोरिफोलियम हो । यो फूलको इतिहास १७औँ शताब्दीमा युरोप पुग्दासम्म पुग्छ । तर नेपालमा यसको व्यावसायिक खेती २०५० दशकदेखि नै सुरु भएको हो । गोदावरी फूलको आकार र स्वरूपका आधारमा यसलाई १३ वटा बर्गमा विभाजन गरिएको छ । यसमा एकसरो, एनिमोन, पम्पन, डेकोरेटिभ, इन्कभर, रिफ्लेक्स, स्पाइडर, मिनीयचर आदि । त्यसैगरी गमला सजावटमा इन्कभर, रिफ्लेक्स, स्पाइडर र मिनीयचर प्रकारका गोदावरी फूलहरू बढी प्रयोग हुन्छन् ।
नेपालमा गोदावरी फूलको महत्व धार्मिक, सांस्कृतिक र आर्थिक दुवै छ । तिहारमा लक्ष्मी पूजा, भाइटीका र घर सजावटमा यो फूल अनिवार्यजस्तै हुन्छ । यसको ताजा रहने अवधि एक हप्तासम्म हुने भएकाले सजावटका लागि उपयुक्त छ । आर्थिक रूपमा हेर्दा, नेपालमा वार्षिकरूपमा गोदावरी फूलको कारोबार अर्बौँ रुपैयाँ पुग्छ । विगतका वर्षहरूमा ०७५/७६मा मात्र दुई अर्ब ४२ करोडभन्दा बढीको कारोबार भएको थियो । यो वर्ष तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको माग १४.२९ प्रतिशतले बढ्ने अनुमान छ ।
गोदावरी फूलको खेती प्रविधि पनि सरल छ । यो बलौटे दोमट माटोमा राम्रोसँग उब्जिन्छ । बीउ रोपाइँदेखि फूल फुल्नेसम्म ३ देखि ४ महिना लाग्छ । नेपालका काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, काभ्रेपलाञ्चोक, वीरगन्ज, धरान, धनगढी जस्ता स्थानहरूमा व्यावसायिक खेती हुन्छ । यस फूलले किसानहरूलाई राम्रो आय दिन्छ र रोजगारी सिर्जना गर्छ । सो प्रदर्शनीले यस्ता फूलहरूको नयाँ प्रजातिहरू भित्र्याउने काम पनि गर्दछ, जसले खेतीलाई विविधता दिन्छ ।
विगतका प्रदर्शनीको इतिहास
गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीको इतिहास विक्रम सम्वत् २०५१ सालदेखि सुरु भएको हो । सुरुमा यो सानो स्तरको थियो तर विसं २०६४ देखि २०७० सम्म कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम र कृषि विभागको सहयोगमा फ्यानले सहआयोजना गर्दै आएको थियो । १२औं संस्करण २०७५ मा कार्तिक १५ देखि १८ सम्म जावलाखेलमा भएको थियो, जसमा चार सय ५० भन्दा बढी जातका फूलहरू प्रदर्शित थिए । त्यसपछि १३औँ संस्करण २०७६मा सम्झना नर्सरीले पहिलो स्थान हासिल गरेको थियो । त्यसैगरी १४औँ संस्करण २०७८ मा कात्तिक १२ देखि सुरु भयो, जसमा ५० लाखको कारोबार लक्ष्य राखिएको थियो । १५औँ संस्करण २०७९ मा ३ कात्तिकदेखि जावलाखेलमा आयोजित थियो । जसमा पुष्प व्यवसायीहरूले आफ्ना नर्सरीका फूलहरू बिक्री गरे । १६औँ संस्करण २०८० मा कात्तिक १ गतेदेखि ५ दिनसम्म चलेको थियो । जसको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले गरेका थिए । त्यस वर्ष चार सय प्रकारका इनडोर–आउटडोर बोटबिरुवा, तीन सय प्रकारका फूल र फलफूलहरू प्रदर्शित थिए । त्यसरी नै १७औँ संस्करण २०८१ मा अक्टोबर २४ देखि २७ सम्म भएको थियो । जसमा तिहार र छठलाई लक्षित गर्दै गोदावरी फूलको व्यावसायिक प्रवर्द्धनमा जोड दिइएको थियो । यस प्रदर्शनीहरूले नेपालमा फूल उत्पादनलाई ८८ प्रतिशत स्थानीय आपूर्तिमा पु¥याएको छ । अब १८औँ संस्करणमा नयाँ प्रजातिहरू भित्र्याउने र आयात प्रतिबन्धलाई समर्थन गर्ने योजना छ । काठमाडौं महानगरपालिकाले तिहारमा आयातित फूल प्रतिबन्ध गरेको छ, जसलाई फ्यानले स्वागत गरेको छ । यी प्रदर्शनीहरूले फूल व्यवसायलाई संस्थागत गर्दै आएका छन् । यसर्थ सुरुका वर्षहरूमा ४० देखि ५० स्टलहरू मात्र थिए । तर अहिले ९० पुगेका छन् । यसले किसानहरूबीच प्रतिस्पर्धा बढाएको छ र गुणस्तरीय उत्पादनलाई प्रोत्साहन दिएको छ ।
आयोजक र तयारी
यो प्रदर्शनीको मुख्य आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) हो । जब कि फ्यान नेपालका पुष्प व्यवसायीहरूको छाता संगठन हो । जसले पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा काम गर्दछ । फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठ र उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले पत्रकार सम्मेलनमा यो वर्ष पाँचवटा श्रेणीमा प्रतियोगिता हुने जानकारी दिए । यसमा तयारीका लागि स्टल व्यवस्थापन, चौर र टेन्ट निर्माण, पानी र बत्तीको व्यवस्था गरिएको छ । प्रवेश शुल्क सामान्यका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । तयारीमा नर्सरी सञ्चालकहरू व्यस्त छन् । जसमा सम्झना नर्सरी, थापा नर्सरी, टीपीआर मितेरी नर्सरीजस्ता पुरस्कार विजेता नर्सरीहरूले नयाँ प्रजातिका गोदावरी बिरुवाहरू तयार पारेका छन् । प्लान्ट क्लिनिक स्टलले बिरुवा रोग तथा कीट नियन्त्रणबारे सल्लाह दिनेछ । फोटो सेल्फी स्टलहरूले पर्यटकहरूलाई आकर्षित गर्नेछन् । यस वर्ष आयात प्रतिबन्धका कारण स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । फ्यानले पुष्प विकास केन्द्रसँग मिलेर नयाँ प्रजातिका मादर प्लान्टहरू भित्र्याएको छ ।
प्रदर्शनीका मुख्य क्रियाकलापहरू
प्रदर्शनीका मुख्य आकर्षण गोदावरी फूलका प्रतियोगितात्मक स्टलहरू हुन् । पाँचवटा श्रेणीमा प्रतिस्पर्धा हुनेछ–मिनीयचर, स्पाइडर, रिफ्लेक्स, इन्कभर र कट फ्लावर्स। उत्कृष्ट स्टललाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । विगतमा सम्झना नर्सरीले चार विधामा पुरस्कार जितेको थियो । व्यावसायिक स्टलहरूमा चार सयभन्दा बढी प्रकारका फूलहरू प्रदर्शित हुनेछन् । यसमा गोदावरीका साथै सयपत्री, मखमली, मौसमी फूलहरू । आलंकारिक बोटबिरुवा, फलफूल, सेरामिक तथा प्लास्टिक गमला, बगैंचा तथा रूफटप फार्मिङका सामग्रीहरू पनि उपलब्ध हुनेछन् । जो सूचनामूलक स्टलहरूले फूल खेती विधि, निर्यात सम्भावना र सरकारी नीतिबारे जानकारी दिनेछन् । सो उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षणमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही सांस्कृतिक कार्यक्रमहरू, फोटो प्रदर्शनी र सेल्फी जोनहरूले मेलालाई जीवन्त बनाउनेछन् । यो वर्ष ५० लाखभन्दा बढीको कारोबार लक्ष्य राखिएको छ ।
आर्थिक र सामाजिक प्रभाव
यो प्रदर्शनीले पुष्प व्यवसायलाई ठूलो प्रभाव पार्छ । नेपालमा फूलको ६२.५ प्रतिशत माग स्थानीय उत्पादनले पूरा गर्छ । बाँकी ३७.५ प्रतिशत आयात हुन्छ । प्रदर्शनीले आयात घटाउने र निर्यात बढाउने लक्ष्य राख्छ । विगतका वर्षहरूमा चार लाख ७५ हजार मखमली माला, २० हजार गोदावरी र ३० हजार मिश्रित मालाको खपत भएको थियो । यसले हजारौँ किसान र मजदुरहरूलाई रोजगारी दिन्छ । तथापि, सामाजिकरूपमा यो मेलाले पर्यावरण संरक्षणको सन्देश दिन्छ । गोदावरी रोपेर घर सजाउने नाराले हरियाली बढाउने प्रेरणा दिन्छ । वस्तुतः महिलाहरूको सहभागिता पनि बढी छ । उदाहरणका लागि गंगादेवी तामाङजस्ता नर्सरी सञ्चालकहरूले व्यवसाय विस्तार गरेका छन् । यसले पर्यटनलाई पनि प्रोत्साहन दिन्छ, किनकि जावलाखेल पर्यटकीय स्थल पनि हो ।
निष्कर्षमा भन्नुपर्दा १८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी विसं २०८२ले नेपालको पुष्प संस्कृति र व्यवसायलाई नयाँ आयाम दिनेछ । मूलतः यसमा पनि रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि नाराले सबैलाई प्रेरित गर्दछ । यो मेला अवलोकन गर्नुहोस्, फूल किन्नुहोस् र खेती सुरु गर्नुहोस् । यसले हाम्रो पर्वलाई फूलमय बनाउने मात्र नभई अर्थतन्त्रलाई बलियो बनाउनेछ । अतः फ्यानको यो प्रयास सराहनीय छ र आगामी वर्षहरूमा अझ ठूलो बन्नेछ ।