वाशिङ्गटन डिसी (अमेरिका) । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसी पुगेका छन् । सोमबार र मङ्गलवार अर्थमन्त्री खनालले विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाएका छन् ।
मन्त्री खनालले मङ्गलबारमात्र अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरेका थिए । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । यहाँस्थित राजदूतावासले उक्त छलफल उपयोगी भएको जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी, मन्त्री खनालले मङ्गलबार नै विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरेका थिए । यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गरेका थिए ।
सो भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।