धनकुटा । धनकुटा नगरपालिका–७ निगालेमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विराटनगरबाट महालक्ष्मी नगरपालिका तर्फ जाँदै गरेको यात्रुबाहक बस बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रदेश ०१–००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परि महालक्ष्मी–७ निवासी ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बसमा ३० जना यात्रु सवार रहेका मध्ये ६ जना घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानका क्रममा बस सडकबाट अनियन्त्रित भएर खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।