काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा गोली चलाउने आदेश दिएको भन्ने आरोपको खण्डन गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले पछिल्ला राजनीतिक घटनाक्रम समेटिएको १५ बुँदे, ६ पृष्ठ लामो प्रतिवेदन पेस गर्दै उक्त आरोपहरू “नियोजित र आपराधिक प्रचार” भएको बताएका छन्।
प्रतिवेदनमा भनिएको छ, “गोली चलाउने आदेश कानुनतः अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्छ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ। भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि मात्र जानकारी भएको हो।”
ओलीले दङ्गा नियन्त्रणका वैकल्पिक उपाय अवलम्बन नगरी ठूलो मात्रामा गोली चलाइनु गम्भीर विषय भएको उल्लेख गर्दै सो घटनाको कारण र २३–२४ गतेका घटनाबीचको अन्तरसम्बन्धबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन्।
प्रतिवेदनमा भनिएको छ कि भदौ २३ गतेको घटनापछि तत्कालीन मन्त्रिपरिषद्को बैठक बसेर मृतक र घाइतेका परिवारलाई राहत दिने, घाइतेहरूको निःशुल्क उपचार गर्ने र सत्यतथ्य छानबिनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरिएको थियो।ओलीले यथार्थ यति स्पष्ट हुँदाहुँदै पनि आफूविरुद्ध चलाइएका निराधार आरोप र प्रचारको एमालेले कडा खण्डन गर्ने उल्लेख गरेका छन्।