सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा राखिएका छन्। काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधबार महरालाई थुनछेक आदेश दिएका छन्। अदालतले प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनका आधारमा महरासँगै उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महराले पनि चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क राखेको देखिएको उल्लेख गरेको छ। प्रतिवेदन अनुसार, दुवैबीच मिलेमतोमा इ–सिगरेट (भेप) मार्फत सुन तस्करी गरिएको आरोप लागेको छ। महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई फोन गरी जफत गरिएका सामानबारे छलफल गरेको पनि प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ। भन्सारले २०७९ फागुन २१ गते जफत गरेको ७३० वटा इ–सिगरेटमा करिब ९.५ किलो सुन लुकाइएको फेला परेको थियो। उक्त सुनको न्यूनतम मूल्य पाँच लाख ११ हजार रुपैयाँ भन्दा बढी तोकिएको थियो। सरकारको गठन गरेको सुन तस्करी नियन्त्रण छानबिन आयोग, प्रहरीले बुझाएको प्रतिवेदन, मोबाइल कल डिटेल र प्रत्यक्ष साक्षीका बयान अदालतमा प्रमाणको रूपमा पेश भएका छन्। अभियुक्त दिनेश बस्नेतले सुन ६ करोड रुपैयाँमा व्यापारी वेदप्रकाश अग्रवाललाई बिक्री गरेको बयान दिएका छन्। अदालतले प्रस्तुत प्रमाण र बयानको आधारमा तत्काल महरालाई निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै महरालाई जगतनाथदेवल कारागारमा राखिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिएका छन्।