काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ । गुठीले राजधानीमा एक कार्यक्रम गरी तीन अलग–अलग स्रष्टालाई पुरस्कार प्रदान गरेको हो ।
यस वर्षको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । यो पुरस्कार पहिलोपटक नेपालबाहिरका स्रष्टालाई समर्पण गरिएको हो । त्यस्तै, एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ भने ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिएको हो । गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू नरनाथ लुईंटेल, के.के कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदान बारे चर्चा गरेका थिए । पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको बताए । सोही अवसरमा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको ४२औँ कृति ‘पुरस्कार लुड्याउने’को लोकार्पण गरिएको थियो । गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रह्लाद पोखरेल सदस्य रहेको समिति गठन गरिएको थियो । गुठीको बुधबार नै सम्पन्न साधारणसभाले पुनः घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।