काठमाडौं । स्टार्टअप तथा इन्नोभेसनको प्रवद्र्धनका लागि काठमाडौंमा सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ आयोजना हुने भएको छ । लिभिङ विथ आईसीटी र स्वाइड अफ चेन्जमेकरको संयुक्त आयोजनामा कात्तिक २७ र २८ गते उक्त फेस्ट हुन लागेको हो ।
सातै प्रदेशका सयभन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरूको प्रदर्शनी रहने फेस्टमा रोबोटिक्स, ड्रोन र एआई प्रविधिहरूको पनि सोकेस गरिनेछ । यो फेस्ट, आईसीटी अवार्ड २०२५ को प्रि–इभेन्टको रूपमा हुनेछ । कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनहरूले आईसीटी अवार्ड २०२५ का सेमिफाइनलिस्टका रूपमा सहभागिता जनाउनेछन् । अवलोकनकर्ताहरूले ती प्रोडक्ट तथा इन्नोभेसनका आधारमा भोट पनि गर्न सक्नेछन् । साथै, सातै प्रदेशबाट ३० भन्दा बढी स्टार्टअपहरूको सहभागिता रहनेछ । फेस्टमा विभिन्न कम्पनी तथा विद्यार्थीहरूले विकास गरेका रोबोटिक्स, एआई प्रोडक्ट, रकेट तथा एयरोस्पेससम्बन्धी परियोजनाहरूको पनि प्रदर्शनी हुनेछ ।
स्टार्टअप एन्ड आइडिया फेस्ट नेपालमा इन्नोभेटिभरूपमा काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवर्द्धन गर्न तथा उद्यमशीलताको विकासका लागि आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रममार्फत सरकार, सरोकारवाला, लगानीकर्ता र स्टार्टअप इकोसिस्टममा काम गरिरहेकाहरूसँग सहकार्यका लागि आयोजकले आह्वान गरेको छ । आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि फेस्टमा प्रोडक्ट डेमो र नेटवर्किङ सेसनको पनि व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा सहभागीता निःशुल्क गरिएको छ ।
दुई दिने प्रदर्शनीसँगै, काठमाडौं बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरूका लागि मेन्टरिङ तथा इन्क्युबेुसन सेसनहरू सञ्चालन गरिनेछन् । स्टार्टअपहरूका लागि आर्किटेक्चर एज ए सर्भिससम्बन्धी निःशुल्क प्रशिक्षण सेसन पनि सञ्चालन हुनेछ । मेन्टरिङ तथा प्रशिक्षण सेसनहरू सनवे कलेज र एमआईटी कलेजमा सञ्चालन गरिनेछ भने अन्य सेसनहरू विभिन्न स्थानमा तय गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिता जनाउने सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई आइसीटी अवार्ड २०२५ को ग्रान्ड फिनालेमा प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मान गरिनेछ । आइसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया सञ्चालनमा छ । अवार्डमा सात सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएका छन् । १४ जना नेपाली र तीन जना विदेशी विज्ञहरू अवार्ड छनोट प्रक्रियामा सहभागी भएका छन ।