काठमाडौं । दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ’होलि काउ’ ग्रुपद्वारा सञ्चालित फाइन डाइन रेस्टुरेन्टले ’बेस्ट रेस्टुरेन्ट’को अवार्ड जितेको छ ।
हालै रेडिङमा आयोजित इङ्गल्यान्ड्स बिजनेस अवाड्र्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो । मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदानलगायतको आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको हो । इङ्ल्यान्डभरका रेस्टुरेन्टहरूबीच आयोजित प्रतिस्पर्धामा हजारौँ ग्राहक र समर्थकले आफूलाई मनपर्ने व्यवसायको पक्षमा भोट दिएका थिए । होली काउले प्राप्त गरेको यो अवार्डले नेपाली उद्यमशीलता र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गरेको होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले बताए ।
यो उपलब्धि नेपाली समुदायको गौरव, गुणस्तरीय सेवा र स्वादमार्फत ब्रिटेनमा स्थापित नेपाली पहिचानको प्रमाण पनि बनेको उनको दाबी छ । होली काउ समूहअन्तर्गतका रेस्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै एक सय २० जना कर्मचारी कार्यरत छन् ।