मिलान । इटालीमा सन् २०२४मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । एएफपीका अनुसार मंगलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्यांक संस्था (इस्तात)को प्रतिवेदनअनुसार, देशभर ५७ लाख मानिसहरू (झण्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसंख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ ।‘पूर्ण गरिबीमा’ भन्नाले मानिसहरूले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ ।
उदाहरणका लागि, रोम सहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रतिमहिना (झण्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो । अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भए पनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्यरूपमा बढेको अध्ययनले जनाएको छ । युरोपस्तरीय मापदण्डअनुसार, सन् २०२४मा करिब एक करोड ३६ लाख इटालियनहरू (जनसंख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए ।
यो दर युरोपेली संघको औसत २१ प्रतिशतभन्दा उच्च हो । इटाली केही पश्चिम युरोपेली मुलुकहरूभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रीसजस्ता राष्ट्रहरूको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको छ । यो अध्ययनअनुसार, विदेशी नागरिकहरू (प्रवासीहरू) गरिबीबाट अझ बढी प्रभावित छन् । पूर्णरूपमा विदेशीहरूबाट बनेका घरपरिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्, जब कि केवल इटालियन नागरिकहरू भएका घरपरिवारमा यो संख्या ६ प्रतिशत मात्र रहेको छ ।