काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले पनि राजनीतिक दलको सरकारको जस्तै कार्यशैली अपनाएर विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाएको छ । राजनीतिक दलको नेतृत्वमा बनेको सरकारले कूटनीतिलाई भन्दा पनि राजनीतिलाई प्राथमिकता दिएर आफ्नो दलसँग आस्थावानलाई राजदूत बनाउने चलन चलाएका थिए । त्यसले गर्दा कूटनीति कमजोर भयो भनेर आलोचना हुने गरेको थियो । अहिले त्यही सिको गरेर कार्की नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा राजनीति सुरु गरेको छ ।
कार्की सरकारको बिहीबार बसेको बैठकले चीनका लागि राजदूत कृष्णप्रसाद ओली, साउदी अरबका नरेशविक्रम ढकाल, रुसका जंगबहादुर चौहान, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
तर अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव तथा दक्षिण कोरियाका लागि राजदूत शिवमाया तुम्बाहाम्फेलाई भने फिर्ता बोलाएको छैन । यादव कांग्रेस नेता र तुम्बाहाम्फे एमाले नेता हुन् । चुनाव गराउने मात्र अधिकार पाएको सरकारले राजदूत चलाउन थाल्नाले वर्तमान सरकार काम गर्नेभन्दा पनि पूर्वाग्रही भएर अगाडि बढेको देखिन्छ ।