कर्णाली । कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले अगाडि बढाएको छ । कर्णाली प्रदेशभर फोरजी तथा फाइबर नेट सेवाको पहुँच विस्तार गरिने नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा. कमल लामिछानेले बताए । उनले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको बताए ।
“ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ कार्य थालेका छौँ”, उनले भने, “थप ५० पालिकासम्म सेवा सर्भेका काम पनि भइरहेका छन् । कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण सुर्खेतसम्म जोडिनेबित्तिकै फाइबर नेट सेवा विस्तार गर्न सहज हुन्छ ।” सुर्खेतको चिङ्गाड गाउँपालिकामा पनि फाइबर नेटको सेवा जोड्ने तयारीमा रहेको उनको भनाइ थियो ।
निर्देशक डा. लामिछानेले दैलेख, कालीकोट, जुम्ला सिञ्जासम्म फाइबर नेटको सेवा विस्तारको काम भइरहेको उल्लेख गर्दै सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको बताए । उनका अनुसार यसका लागि प्राविधिकहरूले घरदैलोको काम गरिरहेका छन् । केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० वटा स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको छ ।
विद्युतीकरणका लागि प्रदेशभरिमा ३० वटा साइटका लागि विद्युत् प्राधिकरणलाई पेश्की उपलब्ध गराइसकेको जनाउँदै उनले दुर्गम बस्तीका १६ स्थानीय तहको बजार क्षेत्रमा पुगिएको र डिजिटल कर्णाली कन्क्लेभको परिकल्पनाअनुसार काम भइरहेको बताए । सोलार सिस्टम र विद्युतीकरणको पाटो बलियो भएमा सञ्चार सेवा विस्तार गर्न सकिने उनको भनाइ थियो ।
हुम्लाको हिल्सामा पनि यही वर्षमा फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ । बिटीएसबाट डोल्पा जिल्लाको मुड्केचुलामा काम भइरहेको जनाउँदै त्यसो नभएको खण्डमा रिङ नेटबाट सेवा सञ्चालन गर्ने र सुर्खेत आसपासका क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने उनले बताए ।