काठमाडौं । तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ एक करोडको कारोबार गर्र्दै सकिएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा आयोजित एक्स्पो शनिबार सकिएको हो ।
मेलामा ३५ हजार बढीले अवलोकन गरेको एक्स्पो संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । एक्स्पो अपेक्षा गरेभन्दा धेरेले अवलोकन गरेकाले नर्सरी व्यवसायीहरुमा उत्साह थपिएको महर्जनले बताइन् । एक्स्पो समापन कार्यक्रममा नायिका मनिषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरुको जगेर्ना गर्न सुझाइन् । संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवाहरुलाई समेत प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्व वातावरण मन्त्री गणेश शाहले ‘वातावरण जोगाऔं‘ अभियानमा सबैले साथ दिनुपर्ने बताए । एक्स्पोमा ६२ वटा व्यावसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल चारवटा स्टल तथा प्रतिश्पर्धाको चारवटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेको थियो ।
एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूल बिरुवाहरुलगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरु प्रदर्शनी तथा बिक्री र वितरणको लागि राखिएको थियो । साथै एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल राखिएको थियो । संघले तिहारलक्षित तिहार फ्लोरा एक्स्पो र चैतमा हर्टीकल्चर एक्स्पो गरी वर्षमा दुईवटा मेला गर्दै आएको छ ।
गोदावरी पुष्प मेलामा १ करोड तीन लाखबढीको कारोबार
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा एक करोड तीन लाख रुपैयाँबढीको कारोबार भएको छ ।
मेलाको चोथो दिन शनिबारसम्म ३४ हजार आठ सयभन्दा बढीले अवलोकन गरेका छन् । असोज २९ गतेदेखि सुरू भएको मेलाको चोथो दिन शनिबार रहेकोले पनि अरु दिनको तुलनामा दर्शकहरुका उपस्थिति उल्लेख्य रहेको थियो । शनिबार बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री मधुसुदन पौडेलले मेला अवलोकन गरेका थिए ।
साथै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे र सरकारका विशिष्ट व्यक्तित्वहरुले पनि मेला अवलोकन गरेका थिए । आइतबारसम्म चल्ने मेलामा ४० हजारबढीले प्रत्यक्ष अवलोकन तथा एक करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकले अनुमान गरेको छ । नजिकै आइरहेको तिहार तथा छट पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ । गोदावरी फूलको एकमात्र बृहत् प्रदर्शनी रहेको यस मेलमा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल एक, अफिसियल स्टल पाँच, प्रतियोगितात्मक स्टल दुई र फोटो सेल्फी स्टल दुई गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ । विगत वर्षझैँ यस वर्ष पनि गोदावरी फूलको चारवटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ)मा प्रतिस्पर्धा गरिएको थियो ।