महाभारतमा यक्षप्रश्नको एउटा प्रसङ्ग आउँछ । कुनै पनि देश कतिखेर असफल या समाप्त हुन्छ ? भन्ने यक्ष प्रश्नमा युधिष्ठिर जवाफ दिन्छन्– ‘जब अराजकताले सीमा नाघ्छ ।’ हो गत भदौ २३/२४ गते कांग्रेस एमालेको राज्यसत्ताले जेन–जी पुस्ताका भविष्यका कर्णधार तरुण युवाका टाउको छातीमा ताकीताकी गोली ठोकेर ७६ निर्दोष भाइबहिनीको हत्या गरेपछि उत्पन्न परिस्थितिले यतिखेर नेपाल देश पूर्णरुपमा अराजकताको चपेटामा परेको छ । यस अराजकताबाट पार पाउन केही अनिवार्य सर्तहरू छन् । समय रहँदै ती सर्तहरू पूरा हुन नसके नेपाल देश असफल हुने या समाप्त हुने पक्का छ ।
जब राज्यसत्ता पूर्णरुपमा असफल हुन्छ, तब अराजकताको ताण्डव नृत्य प्रारम्भ हुन्छ । यतिखेर नेपाल देशको राज्यसत्ता पूर्णरुपमा असफल भएर अराजकताको महामारी चलिरहेको छ । कुनै पनि राज्यसत्ताका महत्वपूर्ण अङ्ग भनेका तीनवटा हुन्छन् । एउटा हुन्छ विधान पालिका जसलाई संसद् भनिन्छ । दोस्रो हुन्छ कार्यपालिका जसलाई सरकार भनिन्छ । तेस्रो हुन्छ न्यायपालिका, जसलाई अदालत भनिन्छ । संसद्लाई प्रतिनिधित्व गर्ने संसद् भवन खरानी भएको छ । सरकारलाई प्रतिनिधित्व गर्ने सिंहदरबार खरानी भएको छ । न्यायलाई प्रतिनिधित्व गर्ने सर्वोच्च अदालत खरानी भएको छ । सरकार पूर्णरुपमा विदेशी दूतावासको मुट्ठीको माखो भएर सत्ता नेतृत्वविहीन अवस्थामा पुगेको छ । राज्यको चौथो अङ्ग भनेको पत्रकारिता जगत पनि विगत ३० वर्षदेखि राज्यसत्तालाई पूर्णरुपमा क्याप्चर गरेर लुटतन्त्र मनपरितन्त्र मच्चाएका देशलाई अराजकताको यो हविगतमा पु¥याएका कांग्रेस, एमाले, माओवादी नेताहरूका जलेका घरहरूका खरानीमा हिरा, मोती, जवाहरात, सुन, चाँदी, डलरका टुक्राहरू खोज्दै कुहिरोको कागझैँ कतै विश्राम लिने उज्यालो ठाउँ नपाएर भौतारिरहेको छ । नागरिक समाजका अगुवा बनेका बौद्धिक वर्ग प्राडाहरू पनि एकथरी डलर किसान भारुखेतीका कारिन्दाहरू ‘०७२ संविधान न जोगिए देश जोगिँदैन’ भन्दै आफ्नो खेतीलाई सिँचाइ पुर्याउने थप मुहान खोज्नमा तल्लीन छन् भने साँच्चै नै यो अराजकताले देश सकिने भयो भनेर चिन्तित बनेका अर्काथरी बौद्धिक वर्ग प्राडाहरू ०७२को संविधान खरानी भइसकेका तथ्य प्रमाण केलाएर ०४७को संविधान पुनर्जिवित तुल्याउने प्रयत्नमा भेटिएका छन् । ०४७को संविधान पुनर्जीवित तुल्याउने अभियानमा पनि एउटा प्रश्न अनुत्तरित नै छ । त्यो प्रश्न भनेको फेरि अर्को गिरिजाप्रसाद र अर्को प्रचण्ड जन्मदैनन् भन्ने के ग्यारेन्टी ?
खैर ०४७ कि ०१७ साल ? भन्ने त भोलिको प्रश्न भयो । आजको तत्काल उत्तर खोज्नुपर्ने विषयचाहिँ के साँच्चै नै भाद्र २३/२४को जेन–जी विद्रोह र वर्तमान अराजकताका पछाडि विदेशी शक्ति (इन्डो–अमेरिका)को हात छ त ? यही प्रश्नको उत्तरमा नै यतिखेर सबैभन्दा बढी डलरखेती र भारुखेतीको मलजल भइरहेको पाइएको छ । यसमा प्रस्ट बुझ्नुपर्ने तथ्य के हो भने जहाँ डलरखेती र भारुखेतीमा मलजल भइरहेको पाइन्छ त्यो देश, जनता र प्रणालीको हितमा कुनै पनि हालतमा होइन । छैन । प्रष्टरुपमा सयका सय प्रतिशत के तथ्य हो भने जेन–जी विद्रोह र वर्तमान अराजकताको मुल र निर्णायक कारण देशबाहिर होइन, देशभित्रै छ । मुख्य कारण रहेका कांग्रेस, एमाले, माओवादी (देउवा, ओली, प्रचण्ड) विदेशी शक्तिलाई देखाएर पानीमाथिको ओभानो हुने प्रयत्न गरिरहेका छन् भन्ने बुझ्नुपर्ने हुन्छ, मलामीको यात्रा अझै घाट (चीता)सम्म पुग्न पाएको छैन । तथ्य के हो भने मलामीको यात्रा घाटसम्म नपुगी कुनै पनि हालतमा रोकिनेवाला छैन ।
तथ्यहरूका डटहरू जोडिँदै जाँदा प्रस्ट तस्बिर सतहमा के छर्लङ्ग भएको छ भने संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, भैँसेपाटीको मन्त्री क्वाटरहरू र सयकडौँ प्रहरी चौकीहरू खरानी हुनुमा मुख्य कारण राष्ट्रपति रामचन्द्र पौडेलको खोटो सोच, समझ, नियत जिम्मेवार रहेको छ । खड्ग ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको संरक्षणमा उपत्यकाबाहिर र (हेटौंडा ब्यारेक) पुगिसकेपछि सेना प्रमुखले राष्ट्रपतिसमक्ष संकटकाल घोषणा गर्न प्रस्ताव राखेका थिए । त्यसबखत उनी राष्ट्रपति भवनबाट ज्यान जोगाएर सैनिक ब्यारेक पुगिसकेका थिए । सेनाले राष्ट्रपतिसमक्ष संकटकाल घोषणाको प्रस्तावमा हस्ताक्षर गर्न प्रस्ताव राख्दासम्म २४ गतेको बिहान कतै पनि आगजनीका घटना भएका थिएनन् । राष्ट्रपतिले हस्ताक्षर गरेर समयमै सेना बाहिर निस्कन पाएको भए देउवा प्रचण्डको कालो धन भण्डाफोर हुने एक/दुई छिटपुट हुनैपर्ने घटना घटित भए पनि जुन स्तरको आगजनी र खरानी व्यहोर्नु पर्यो, निश्चितरुपमा त्यो हुने थिएन । नेपाली सेनाले २४ घण्टाभित्र सबै आफ्नो नियन्त्रणमा लिइसक्ने पक्का थियो । तर संकटकाल घोषणाको पत्रमा हस्ताक्षर गर्न सेनाको दबाब बढेपछि राष्ट्रपति बाथरुम जान्छु भनेर पन्सिएका ४८ मिनेट बाथरुममै बिताएर कहाँ–कहाँ के–के षड्यन्त्र सम्पर्क गरे र बाथरुमबाट निस्किएर कुनै पनि हालतमा संकटकाल घोषणा नगर्ने अडान लिए । (पूर्वसैनिक जनरल तथा कूटनीतिक विज्ञ वौद्धिक व्यक्तित्व) रामचन्द्र पौडलबारे जेन–जी पुस्तालाई अलिकति पाठ्यक्रम के भने पञ्चायतकालमा तनहुबाट कागती अमिलो बोकेर पञ्चायतकालको कांग्रेस राजनीति धान्ने गरेका हाल उनका छोराको लण्डनमा चारवटा घर रहेका तथ्यले नै उनको राजनीतिक गन्तव्य छर्लङ्ग भइहाल्छ । बहुदलकालमा सभामुख हुँदा अराजक भूमिकाका कारण सांसद गोल्छे सार्कीबाट गालामा डाम बस्नेगरी चट्कन खाएका गुगलमा अलिकति सर्च गर्दा अभिलेख छँदैछ ।
गणतन्त्रकालमा ४० लाख भारतीयलाई नेपाली नागरिकता दिने सर्तमा राष्ट्रपति भएका वरिष्ठ वकिल ध्रुवलाल श्रेष्ठबाट ‘किर्ते हस्ताक्षर’को मुद्दा र वरिष्ठ वकिल स्वागत नेपालबाट औषधि उपचारमा भ्रष्टाचार मुद्दा खेपिरहेका यति पाठ्यक्रमपछि उनको सोच, समझ, नियतबारे जेन–जी पुस्तालाई थप उत्सुकता आवश्यक परेन । त्यसपछि यता जेन–जी विद्रोह र तीन करोड जनताको आक्रोशले ज्यान जोगाएर लेखेटिएका शेरबहादुर देउवा, खड्गप्रसाद ओली, मिस्टर प्रचण्डको सिफारिसमा प्रधानमन्त्रीमा नियुक्ति पाएकी सुशीला कार्कीका विगत एकमहिनाका सोच, समझ, नियत र तमाम क्रियाकलापबारे लाहनु चौधरी, भरत दाहाल, स्वागत नेपाल, डा. ध्रुवलाल श्रेष्ठ, प्राडा उद्वव सिग्देल, प्रेम घा मगर, दिनेश सत्याल (सौरभ), डा. महेन्द्रजंग शाह, दिपक ज्ञवाली, डम्बर खतिवडा आदि इत्यादि पृथ्वीपथका अभियन्ताहरूले जेन–जी पुस्तालाई पर्याप्त काम लाग्ने अनिवार्य पाठ्यक्रम उपलब्ध गराइरहेका हुनाले यहाँ थप विवरणमा जान चाहिनँ । तथापि प्राण गएको मानिस लास भएजस्तै विचार हराएका दलहरू कुहेर, गनाएर, रोग फैलाउने चरणमा पुगेका देश, जनता र प्रणालीका लागि कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका पुष्टि र प्रमाणित तथ्य हरेक यस्ता आलेखहरूमा दोहोर्याउने गरेको यहाँ पनि दोहोर्याउँछु ।
अन्त्यमा प्रस्तुत आलेखको शीर्षक ‘एडीबी (एसियाली विकास बैंक)लाई अदालतमा मुद्दा’ विषयक केही तथ्यांक अघि सारेर यस स्तम्भमा बिट मार्छु । ०७ सालयताको राष्ट्रिय राजनीतिमा देखा परेका सर्वाधिक बौद्धिक नेतृत्व जननायक बीपी कोइराला मानिनु हुन्छ । नेपाललाई वैदेशिक ऋणबारे उहाँको प्रस्ट अध्ययन अनुभव निष्कर्ष छ ‘वैदेशिक ऋणले नेपालमा एउटा भुँइफुट्टा वर्ग जन्माएको छ जसको कुनै देश, जनता, प्रणाली र सिद्धान्तबारेको धर्म हुन्न । देश सकियोस्, जनता मरुन्, प्रणाली भाडमा जाओस् । त्यो भुँइफुट्टा वर्गलाई कुनै मतलब हुन्न । त्यो वर्गको एकमात्र मतलब र उद्देश्य भनेको केवल निजी सम्पन्नता, भोगविलास, मोजमस्ती र निहित स्वार्थ मात्र हुन्छ ।’ बीपी बित्नुभएको आज ४३ वर्ष पूरा भएको छ । तर जेन–जी पुस्ताले अध्ययन गर्ने हो भने यतिखेर बीपीको उल्लिखित अध्ययन ठहर अक्षरंस चरितार्थ भएको छर्लङ्ग छ । यतिखेर जन्मिदै नेपाली जनताको टाउकोमा ३२ खर्बबढी वैदेशिक ऋण पुगेको छ । तीन करोड जनसंख्याका ८० लाखबढी बलिया पाखुरी खाडी मुलुकमा लखेटिएका छन् । ६४ प्रतिशत उब्जाउ भूमि बाँझै छन् र ग्रामीण बस्तीका आठ लाख घरहरू खण्डहरमा रुपान्तरण भएका छन् । ८३ प्रतिशत खाद्यवस्तुलगायत दैनिक उपभोगका सामान विदेशबाट आयात गरेर धान्नुपरेको छ भने कहाँ गयो त्यो ३२ खर्ब वैदेशिक ऋणको रकम ? यस्तोमा बीपीले औँल्याउनु भएका ‘भुइफुट्ट वर्ग’को हालीमुहाली मनपरितन्त्र लुटतन्त्रमा म संलग्न राज्यसत्ताको प्रधानमन्त्री भएकी सुशीला कार्की क्याविनेटले एसियाली विकास बैंक (एडीबी) समक्ष फेरि खर्बौँ ऋणको प्रस्ताव राख्नु त स्वाभाविक नै हो । तर एडीबीले भने नेपाल देश, जनता र प्रणालीका हकमा ठूलो अपराध न दोहोरियोस् भन्ने उद्देश्यले अदालतमा मुद्दा दर्ताको तयारी भएको पंक्तिकारलाई सूचना आएको हो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमले त त्यस्तो धनराशि ठूलो अपराध हुन पुगेको पत्रकार सम्मेलन गरेरै सारा विश्वलाई थाहा होस् भन्ने उद्देश्यले भण्डाफोर (फेक र ठग) गरिदिएकै हुन् । अस्तु ।