काठमाडौं । बाढी पहिरो तथा अन्य क्षतिमा हालसम्म तीन अर्ब ३६ करोडको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ साल असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कुल बीमा दाबी करिव तीन अर्ब २६ करोड ७६ लाख रुपैयाँ परेको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल सात सय चारवटा बीमा दाबीको करिब तीन अर्ब २६ करोड ७६ लाख रुपैयाँ दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ दुई अर्ब ७० करोड ६९ लाख रुपैयाँबराबरको तीन सय ६४ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिमतफ ४८ करोड चार लाख २६ हजार रुपैयाँबराबरको ८७ वटा दाबी परेको छ । यसैगरी कृषि तथा बाली बीमातर्फ चार करोड ६३ लाख ३२ हजार रुपैयाँबराबरको दुई सय नौवटा दाबी परेको छ भने मोटर बीमाअन्तर्गत निजीतर्फ दुई करोड ५२ लाख ५३ हजार रुपैयाँबराबरको ३३ र मोटर बीमा सार्वजनिकतर्फ एक करोड पाँच लाख ४० हजार रुपैैयाँबराबरको नौवटा दाबी परेको छ । यसैगरी अन्य बीमातर्फ १२ लाख ६० हजार रुपैयाँबराबरको दुईवटा दाबी परेको प्राधिकरणको भनाइ छ ।