काठमाडौं । पर्वतको कुस्मा र बाग्लुङको बलेवाबिचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ । हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शंकर कोइरालाले आफ्नो ‘ड्रीम प्रोजेक्ट’का रुपमा यो कार्यक्रम गरेका हुन् । कोइराला युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन् ।
बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलो पटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको प्रयास गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । हाइलाइनको क्रु सदस्यहरूमा कोइरालासहित तीन जना नेपाली, एक जना न्यूजिल्यान्डेली र दुई जना जर्मनी नागरिक गरी छ जना सहभागी थिए । कोइरालासँगै सुलभ चालिसे, सहन महर्जन, डायलन, कासिया, मटासे र मिथियासलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले पनि साथ दिएको छ ।
असोज २९ देखि सुरु भएको हाइलाइन कार्यक्रम कार्तिक १ गतेसम्म सञ्चालन गरिएको हो । द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलो पटक यति उचाइमा हाइलाइन गरिएको हो । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ । उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ । यो हाइलाइन परियोजना दक्षिण–पूर्व एसियामा दोस्रो लामो भएको भनिएको छ र नेपालमा अहिलेसम्म सबैभन्दा लामो र अग्लो हाइलाइन मानिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यहरूले पाएका अनुभव र युरोपेली प्रशिक्षकहरूको सहयोगमा यो परियोजना अघि बढाइएको हो । खेल हेर्दा डर लाग्दो देखिए पनि पूर्णरूपमा सुरक्षा मापदण्ड अपनाइएको छ ।