काठमाडौं । नेपाल टेलिकमले मनाङको पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा टुजी र फोरजी सेवा तथा दोलखाको रमणीय स्थल च्छो–रोल्पामा भ्वाइस सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी असोज ३१ गतेदेखि टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरूमध्ये करिब चार हजार तीन सय ५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा टेलिकमले माइक्रोवेब प्रविधिमार्फत टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुनसमेत सहज हुने भएको छ । उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भइहालेमा पनि आपत्कालीन उद्धार कार्यका लागि टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।
यसैगरी दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा भ्वाइस सेवा सञ्चालनमा ल्याइएको छ । यही असोज २८ गतेदेखि भी–स्याट प्रविधिमार्फत टेलिकमको भ्वाइस सेवा सुचारु भएको हो । ४ हजार १९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो–रोल्पा रुटको बेदिङ–ना रुट, नागाउँ, च्छो–रोल्पा, दूध–कुण्ड, यालुङ बेसक्याम्प, टासी–लेप्चा पास बेसक्याम्प समेतका भागहरूमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क र आपतकालीन समयमा उद्दार कार्यहरूका लागि उपयोगी हुनेछ । पर्यटकीय सिजनका कारण कामदारहरूको अभावका साथै सहयोगीको रुपमा लगिएका व्यक्तिहरू समेत अस्वस्थ भएका कारण टेलिकमका प्राविधिक कर्मचारीहरूको अथक मिहिनेतपश्चात् उक्त सेवा प्रवाहको कार्य सम्भव कम्पनीले जनाएको छ ।
टेलिकमले भौगोलिक रुपमा विकट, दुर्गम तथा सेवा प्रवाहका लागि अत्यन्त कठिनाइ रहेका स्थानहरूका जनतालाई समेत समानरुपमा दूरसञ्चार सेवा प्राप्त गर्न सम्भव हुनेगरी सेवा प्रदान गर्ने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ ।