काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ५३ करोड नौ लाख रुपैयाँ बढी ऋण भुक्तानी गरेको छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८२ असोज मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार दुइ सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको निगमले जनाएको छ । वर्तमान व्यवस्थापन आइसकेपछि निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ । निगमले कोभिड–१९ महामारीको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न र किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा सकारात्मक छलफल समेत भइरहेको निगमले जनाएको छ ।
काठमाडौं—ग्वाञ्जाओ—काठमाडौं सेक्टरमा यात्रुहरूको उत्साहजनक उपस्थिति
नेपाल वायुसेवा निगमले काठमाडौं—ग्वाञ्जाओ—काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम उडान भरेको छ । निगमको विमान १६ अक्टोबर २०२५ मा उडान आरए–४१७ मा २७ नेपाली नागरिक, २९ जना चिनियाँ, ६१ जना भारतीय र अन्य २२ देशका १११ जना विदेशी नागरिकसहित कुल १३८ (६ जना विजनेस क्लास र १३२ इकोनोमी) जना यात्रुहरू लिएर ग्वाञ्जाओ अवतरण गरेको थियो । त्यसैगरी १७ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौं उडानमा कुल ७८ जना यात्रुहरूसहित उडान आरए–४१८ सफल रुपमा काठमाडौं अवतरण भएको निगमले जनाएको छ । नयाँ रुटमा समेत यात्रुहहरूको उत्साहजनक सहभागिता भएको निगमको दाबी छ ।
यसैगरी आगामी २३ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ उडानको बुकिङ फुल अकुपेन्सी भइसकेको निगमले जनाएको छ । २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौं उडानमा पनि पुरा यात्रुसहित उडान भर्ने विश्वास निगमले लिएको छ । नयाँ सेक्टरको बजार प्रवर्द्धन गर्नको निमित्त निगमले सम्पूर्ण, ट्राभल एजेन्सी, एवं सरोकारवाला निकायलगायत सवैमा विनम्र अनुरोध गर्दै आएको छ । यो काठमाडौं—ग्वाञ्जाओ—काठमाडौं गन्तव्य वर्तमान व्यवस्थापनको नेतृत्वमा साउदी अरेवियाको दमामपछिको नया गन्तव्य सुचारु भएको हो ।