घोडाघोडी (कैलाली)। कैलालीमा मलामी बोकेर बर्दगोरिया गाउँपालिका(४ बाट चिसापानीतर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनामा घाइते भएका नौ जनालाई उद्धार गरी उपचारका लागि लम्की स्थित लालरत्न अस्पताल पठाइएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।