काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्तावसहितको उद्देश्य लिएर वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
सोअनुसार बैंकले यही कात्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २४औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु समेत रहेको बैंकले जानकारी दिएको छ ।
वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज हुने भएको छ । यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।